मङ्लबार, भदौ ९, २०८३
Tuesday, August 25, 2026

विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु – देउवा

काठमाडाैं – नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे ।

विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।

देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। वास्तवमा भन्ने हो भने राजाले थुक्दा पनि राजाको आयोगलाई खारेज गरेको हो। पञ्चायतकालमा पनि धेरै जेलबाट छुटेको म। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारण म नेपालमा आइपुगेको छु।’

विशेष महाधिवेशनबारे उनले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आफूले आग्रह गरेको बताए ।

उनले भने, ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले गर्यौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्याय तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो। जसको खिलाफमा हामी अदालतमा गयौँ।’

अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले अदालतको निर्णय आफूले मान्ने स्पष्ट पारे ।

उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु।’

बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखे । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।

देउवाले भने, ‘म हिन्दु हुँ। मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो। जनै पनि हालेको छु। बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ। म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ।’

नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । उनले कुनै पनि धर्म मान्ने अधिकारबाट नागरिकलाई वञ्चित गर्न नहुने बताए ।

‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन। म हिन्दु हुँ। त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ देउवाले भने।

उनले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । ‘मलाई बुद्धप्रति पनि माया छ। बुद्धिजमलाई आज संसारले मानेको छ। बुद्धिजमलाई वैज्ञानिक धर्म पनि मानेका छन्,’ उनले भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x