बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026

नेपालमा डिजिटल अर्थतन्त्रतर्फ सम्भावनाको नयाँ क्षितिज

विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल प्रविधितर्फ रूपान्तरण भइरहेको छ । इन्टरनेट, मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स र डिजिटल भुक्तानी प्रणालीको विकाससँगै “डिजिटल अर्थतन्त्र” आजको मुख्य आर्थिक प्रवृत्ति बनेको छ । नेपाल जस्तो विकासोन्मुख देशका लागि यो नयाँ अवसरको ढोका खोल्ने महत्वपूर्ण माध्यम बन्न सक्छ ।

नेपालमा पछिल्लो दशकमा इन्टरनेट पहुँच उल्लेखनीय रूपमा बढेको छ । ग्रामीण क्षेत्रसम्म मोबाइल इन्टरनेट विस्तार भएको छ, र स्मार्टफोनको प्रयोग पनि व्यापक बन्दै गएको छ । यसले डिजिटल सेवाहरूको प्रयोगलाई सहज बनाएको छ । विशेष गरी युवापुस्ताले डिजिटल प्रविधिलाई छिटो आत्मसात् गरेका छन्, जसले नयाँ आर्थिक सम्भावनाहरू सिर्जना गरिरहेको छ ।

डिजिटल अर्थतन्त्रको सबैभन्दा ठुलो अवसरमध्ये एक ई–कमर्स हो । अनलाइन व्यापारको विस्तारले साना तथा मझौला व्यवसायहरूलाई आफ्ना उत्पादन र सेवाहरू बजारमा पु¥याउन नयाँ प्लेटफर्म उपलब्ध गराएको छ । पहिले सीमित बजारमा सीमित भएका व्यवसायहरूले अहिले देशभर र अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहुँच विस्तार गर्न सक्छन् । यसले रोजगारी सिर्जना मात्र होइन, उद्यमशीलता प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान पुर्याउँछ ।

पछिल्लो समय नेपालका सहरी क्षेत्रका व्यापारिक केन्द्रहरू सटरबाट भन्दा पनि अनलाइन अर्थात् फेसबुक पेज तथा विभिन्न एपहरूमा रूपान्तरित हुँदै गएको छ । मानिस सेवा भोगी बन्दै गएको परिवेशमा हरेक कुरा तत्कालै चाहने गर्दछन् । त्यसैको फलस्वरूप नेपालमा डिजिटल मार्केटको उपयोगी र त्यसको प्रभावकारिता बढ्दै गएको छ । व्यवसायीक रूपमा वा स्टार्टअपका रूपमा आफूलाई स्थापित गर्न खोज्नेहरूका लागि पनि डिजिटल बजार उपयुक्त माध्यम बनेको छ । जसले युवाहरूलाई स्वरोजगार बनाउनुका साथै आर्थिक र्निभरतातर्फ समेत उन्मुख गरिरहेको छ ।

त्यसै गरी, डिजिटल भुक्तानी प्रणालीको विकासले आर्थिक कारोबारलाई सरल, छिटो र पारदर्शी बनाएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट र अनलाइन ट्रान्जेक्सन प्रणालीले नगदरहित अर्थतन्त्रतर्फ नेपाललाई अघि बढाइरहेको छ । यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउनुका साथै वित्तीय समावेशीकरणलाई पनि प्रवर्द्धन गर्छ । बैंकिङ सेवामा पहुँच नभएका मानिसहरू पनि अब डिजिटल माध्यमबाट आर्थिक गतिविधिमा सहभागी हुन सकिरहेका छन् ।

अर्को महत्वपूर्ण अवसर सूचना प्रविधि (आइटी) र आउटसोर्सिङ क्षेत्रमा रहेको छ । नेपालका युवाहरूमा प्रोग्रामिङ, ग्राफिक्स डिजाइन, डिजिटल मार्केटिङ जस्ता सीपहरू विकास भइरहेका छन् । यसले उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा काम गर्ने अवसर दिन्छ । फ्रीलान्सिङ र रिमोट वर्कको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना बढेको छ । यदि यस क्षेत्रमा उचित तालिम र नीति समर्थन उपलब्ध गराइयो भने, नेपाल सूचना प्रविधि (आइटी) सेवा निर्यात गर्ने देशका रूपमा स्थापित हुन सक्छ ।

नयाँ सरकार र आशा
२०८१ मा भएको स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका तत्कालीन महामन्त्री गगन कुमार थापाले कीर्तिपुरको डाँडामा ल्यापटपसहित बसेर युवाहरूले महिनाको चारदेखि पाँच लाखसम्म कमाई गर्न सक्ने अभिव्यक्ति दिएका थिए । त्यस समय उक्त अभिव्यक्तिलाई मजाकका रूपमा लिएर अपव्याख्या गर्ने काम समेत गरियो । तर, पछिल्लो समय नेपाली बजारमा फस्टाउँदै गएको डिजिटल बजारले भने त्यसको सान्दर्भिकता सही पुष्टि गर्दै गएको छ ।

सूचना र प्रविधिको विकासले वास्तवमै आज कीर्तिपुरको डाँडामा बसेर अमेरिका लगायतका देशको काम युवाहरूले एउटा ल्यापटपकै भरमा गरिरहेका छन् । सो बापत मिनेटको हिसाबमा डलरमा आम्दानी गरिरहेका छन् । यसले पनि डिजिटल अर्थतन्त्रलाई थप मजबुत बनाउने काम गरिरहेको छ ।

गत फागुन २१ को निर्वाचन पश्चात् नवगठित सरकारप्रति आम नागरिकका आशा र अपेक्षा पनि सोही मात्रामा बढेको छ । सरकारले डिजिटल मार्केटलाई थप व्यवस्थित बनाउने हो भने त्यसबाट राज्य कोषमा समेत थप टेवा पुग्ने बाटो सिर्जना हुने छ । सरकारले स्वरोजगार भई अनलाइन मार्फत व्यापार गर्नेहरूका लागि आयातित सामानमा लाग्ने करको दरमा सहुलियत दिन सक्ने हो भने त्यस तर्फ थप आकर्षण बढ्न सक्नेछ । जसले स्वदेशमा नै रोजगारी सिर्जना गर्नुका साथै युवा जनशक्ति पलायनलाई पनि केही हदसम्म रोक्न सकिने छ ।

त्यस्तै, पर्यटन क्षेत्र पनि डिजिटल अर्थतन्त्रबाट लाभान्वित हुन सक्छ । अनलाइन बुकिङ, डिजिटल मार्केटिङ र सामाजिक सञ्जालको प्रयोगले नेपालको पर्यटनलाई विश्वभर प्रचार गर्न सकिन्छ । साना होटेल, होमस्टे र ट्राभल एजेन्सीहरूले डिजिटल प्लेटफर्ममार्फत आफ्नो सेवा सजिलै प्रवर्द्धन गर्न सक्छन्, जसले पर्यटन आम्दानी बढाउन सहयोग पुर्याउँछ ।

यद्यपि, डिजिटल अर्थतन्त्रका अवसरहरू उपयोग गर्न केही चुनौतीहरू पनि छन् । डिजिटल साक्षरता अभाव, साइबर सुरक्षा जोखिम, पूर्वाधारको कमी र नीतिगत अस्पष्टता जस्ता समस्याहरू अझै विद्यमान छन् । विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूमा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी ज्ञानको कमीले यसको पूर्ण लाभ लिन कठिन भइरहेको छ । त्यसैले सरकार र निजी क्षेत्रले मिलेर डिजिटल शिक्षा, पूर्वाधार विकास र स्पष्ट नीतिगत व्यवस्था गर्न आवश्यक छ ।

डिजिटल अर्थतन्त्र नेपालका लागि दिगो आर्थिक विकासको नयाँ आधार बन्न सक्छ । सही रणनीति, लगानी र जनशक्ति विकासमार्फत नेपालले डिजिटल अवसरहरूलाई अधिकतम रूपमा उपयोग गर्न सक्छ । यसले रोजगारी सिर्जना, आर्थिक समावेशीकरण र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । डिजिटल युगमा अघि बढ्न नेपालले समयमै सही कदम चाल्नु आजको आवश्यकता हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x