कांग्रेस संस्थापन इतर पक्षले आज सम्पर्क कार्यालय खोल्दै
काठमाडौं– नेपाली कांग्रेसको नेतृत्वसँग सहमति नजुटेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूह नयाँ पार्टी गठनको तयारीमा जुटेको छ ।
त्यससम्बन्धी निर्णय लिन सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ ।
देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार बैठकले राष्ट्रिय भेला बोलाउने र नयाँ दल निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गर्नेछ ।
यद्यपि नयाँ पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।
उता सभापति गगन थापा नेतृत्वको पक्षले भने १५औं महाधिवेशनलाई एकतामूलक बनाउने प्रयास जारी रहेको बताउँदै पुरानो केन्द्रीय समितिलाई पूर्णरूपमा समायोजन गर्न नसकिने अडान दोहोर्याएको छ ।
यद्यपि देउवा समूहभित्रै पनि पार्टी विभाजन गर्ने विषयमा मतैक्य देखिएको छैन ।
सम्पर्क कार्यालय उद्घाटनलाई आगामी १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा देशभरका नेता–कार्यकर्ताबीच समन्वय बढाउने उद्देश्यसँग जोडेर हेरिएको छ।
राष्ट्रिय भेलामार्फत पार्टीको भावी रणनीति, संगठन विस्तार तथा आन्तरिक एकताका विषयमा थप छलफल हुने इतर समूहका नेताहरूले बताएका छन् ।
देउवा-शेखर पक्षले सातै प्रदेशमा भएका छलफल र भेलाबाट प्राप्त सुझावलाई राष्ट्रिय भेलामा प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
केही नेताले कांग्रेसको रुख चिह्न र चारतारे झण्डा नछाड्ने स्पष्ट गर्दै पार्टीभित्रै संघर्ष जारी राख्ने बताएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE