मुलुकको अर्थतन्त्र ६६ खर्ब पुग्ने अनुमान
काठमाडाैं – राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। मङ्गलवार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै कार्यालयले मुलुकको अर्थतन्त्रको आकारमा समेत विस्तार भई ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको हो।
अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो। यस वर्ष अर्थतन्त्रमा करिब ५ खर्ब रुपैयाँको बढोत्तरी हुने देखिएको छ।
यस वर्ष सबैभन्दा उच्च वृद्धि विद्युत् तथा ग्यास क्षेत्रमा देखिएको छ । तथ्याङ्कअनुसार यस क्षेत्रको वृद्धिदर २०.९३ प्रतिशत रहने अनुमान छ, जुन अन्य क्षेत्रको तुलनामा निकै उत्साहजनक हो। यस्तै, वित्तीय तथा बिमासम्बन्धी सेवामा ९.१६ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ८.२१ प्रतिशतको वृद्धि हुने देखिएको छ।
पर्यटन क्षेत्रमा आएको सुधारका कारण आवास तथा भोजन सेवा (होटल तथा रेस्टुरेन्ट) मा ७.१२ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ। यातायात तथा भण्डारण क्षेत्र ५.७९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्र ५.५३ प्रतिशतले विस्तार हुने कार्यालयको तथ्याङ्कले देखाएको छ।
तर, मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ठुलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर भने निकै न्यून अर्थात् १.२८ प्रतिशतमा सीमित हुने देखिएको छ। सबैभन्दा कम वृद्धि सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा मात्र ०.२३ प्रतिशत रहने अनुमान गरिएको छ।
तथ्याङ्कअनुसार प्रशासनिक तथा सहयोगी सेवामा ४.५२ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यमा ४.०४ प्रतिशत र खानी तथा उत्खननमा ३.५२ प्रतिशतको वृद्धि हुनेछ। त्यस्तै, उद्योग क्षेत्रमा २.८३ प्रतिशत, घरजग्गा कारोबारमा २.६९ प्रतिशत र निर्माण क्षेत्रमा २.३१ प्रतिशतको सामान्य सुधार हुने प्रक्षेपण गरिएको छ।
शिक्षा क्षेत्रमा १.५० प्रतिशत र पानी आपूर्ति, ढल तथा फोहोर व्यवस्थापनका क्रियाकलापमा १.९९ प्रतिशतको वृद्धि हुने कार्यालयले जनाएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE