सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

पहिलो पटक कांग्रेस संसदीय दलको नेता जनजाति समुदायबाट

काठमाडाैं – नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबरमा सोमबार बस्ने बैठकले पार्टी नेता भीष्मराज आङ्देम्बेलाई सर्वसहमतिबाट दलको नेता चयन गर्न लागेको हो।

सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनलाई दलको नेता बनाउने सहमति भएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन।  अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसके पनि आन्तरिक किचलोका कारण कांग्रेसले दलको नेता चुन्न सकेको थिएन।

प्रत्यक्ष र समनुपातिकतर्फ गरी जम्मा ३८ सिटमा खुम्चेको कांग्रेसमा दलको नेताका लागि अर्जुननरसिंह केसी, आङ्देम्बे र मोहन आचार्यको दाबी थियो। उपसभापति शर्मासहित पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष आङ्देम्बेलाई दलको नेता बनाउन चाहन्थे। तर, सभापति थापा आचार्यको पक्षमा देखिएका थिए भने नेता केसी सर्वसहमतिबाट दलको नेता आफु बन्न चाहेको निकट स्रोतको दाबी छ। आङ्देम्बे र आचार्यबिच सहमति नहुँदा केसी सर्वसहमतिबाट दलको नेता बन्न चाहेका थिए। त्यसका लागि सभापति थापाले आचार्यलाई अघि सारेको थापाविरोधी कतिपय नेताहरूको आरोप छ। केसी नाताले कांग्रेस सभापति थापाका ससुरा हुन्।

शुक्रबार संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरेको कांग्रेसले फेरि सहमतिका लागि भन्दै प्रक्रिया स्थगन गरेको थियो। सहमतिका लागि उपसभापति शर्माका साथै उपसभापति पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीय पौडेल र गुरुराज घिमिर संवादमा जुटेका थिए। वि.सं. २०२० मा पाँचथरको फाल्गुनन्दको नवमीडाँडामा जन्मेका आङदेम्बे २०३६ सालको जनमत संग्रहसँगै कांग्रेस राजनीतिमा सक्रिय भएका थिए। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै कांग्रेसको सहमहामन्त्रीसम्मको जिम्मेवारी उनले सम्हालिसकेका छन्।

२०७० को दोस्रो संविधानसभामा पाँचथर-२ बाट संविधानसभा सदस्यमा निर्वाचित आङ्देम्बे २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथर–२ मा एमालेका डम्बरसिंह सम्वाहाम्फेसँग पराजित भएका थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग आङ्देम्ब ४६ मतले पराजित भएका थिए।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे ८० वर्ष पुरानो कांग्रेसको संसदीय दलको नेता बन्ने पहिलो जनजाति नेता हुन्। पार्टीको आन्तरिक कहलका साथै जनअविश्वासका कारण संसदमा सबैभन्दा कमजोर प्रतिपक्षको भूमिकामा कांग्रेस पुगेको छ। तथापी प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आङदेम्बेको भूमिका कांग्रेसभित्र होइन संसद् र संबैधानिक परिषद्मा पनि उनको भूमिका र सक्रियता महत्वपूर्ण हुनेछ।

निर्वाचन आयोगले चुनावको अन्तिम मतपरिणा राष्ट्रपतिलाई बुझाएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई दलको नेता चयन गरेको छ। शाहले चैत १३ गते नै संसदमा बहुमत प्राप्त गरेको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। त्यस्तै, एमाले रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीले हर्क साङ्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई यसअघि नै दलको नेता चयन गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x