बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

युद्धबिरामको खुसीयाली मनाउन नपाउँदै इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

काठमाडौं – अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ।

लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन्। लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले इजरायलले देशैभरि १०० भन्दा बढी हवाई हमला गरेको र यसले स्थितिलाई अत्यन्तै खतरनाक मोडमा पुर्‍याएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई लेबनानको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आपतकालीन अपिल समेत गरेका छन्।

इजरायली सेनाले यसलाई मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण भनेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन्। उनले यसलाई सन् २०२४ को ‘पेजर बम’ अपरेसनपछिको सबैभन्दा ठूलो प्रहार भनेका छन्।

इजरायली सेनाले धेरैजसो सैन्य संरचनाहरू सर्वसाधारणको बीचमा रहेको आरोप लगाए पनि बेरुतका सडकहरूमा अहिले त्रास र कोलाहलको वातावरण छ। अचानक भएका यी विस्फोटहरूले गर्दा मानिसहरू आफ्ना सवारी साधन नै सडकमै छोडेर ज्यान जोगाउन भागिरहेका देखिन्छन् भने बालबालिकाहरू रोइरहेका हृदयविदारक दृश्यहरू बाहिर आएका छन्।

यो आक्रमण ठ्याक्कै त्यतिबेला भयो जब अमेरिका र इरानबीच युद्ध रोक्न दुई हप्ताको युद्धविरामको सहमति भएको थियो। मध्यस्थकर्ता पाकिस्तानले लेबनानलाई पनि यो युद्धविराममा समावेश गरिएको बताएको थियो, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानलाई यसमा समावेश नगरिएको भन्दै हिजबुल्लाह विरुद्धको आक्रमण नरोकिने स्पष्ट पारेका छन्। उनले इजरायलको ‘औँला अझै पनि ट्रिगरमा रहेको’ र इरानसँग फेरि युद्ध गर्न तयार रहेको कडा चेतावनी दिएका छन्।

यता, लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानवीयताको धज्जी उडाउँदै निहत्था नागरिकहरूको हत्या गरेको आरोप लगाएका छन्। हिजबुल्लाह र लेबनानी संसद्का सभामुख नबिह बेरीले यसलाई ‘पूर्ण युद्ध अपराध’ को संज्ञा दिएका छन्।

संयुक्त राष्ट्र संघका प्रतिनिधिले पनि अब सैन्य शक्तिबाट कसैको जित नहुने भन्दै तत्काल युद्ध रोकेर वार्ताको बाटो रोज्न आग्रह गरेका छन्। अर्कोतर्फ, इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले इजरायलको यो कदमपछि अमेरिकासँगको युद्धविराम र वार्ताको कुनै औचित्य नरहेको बताएका छन् जसले गर्दा मध्यपूर्वमा फेरि ठूलो युद्ध भड्किने खतरा बढेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x