शुक्रबार, बैशाख ११, २०८३
Friday, April 24, 2026

मतदाताको सन्देश: विरासतको विश्राम र विकल्पको खोजी

नेपाली राजनीतिको एउटा कालखण्ड थियो, जहाँ चुनावी मैदानका ‘हेभिवेट’हरूको नाम सुन्नेबित्तिकै नतिजाको अड्कलबाजी गर्न सकिन्थ्यो। तर, यो आमनिर्वाचनले त्यो स्थापित भाष्यलाई मात्र भत्काइदिएको छैन, ‘शक्तिशाली’ भनिएकाहरूको पैतालामुनिको जमिन कतिसम्म थर्किएको रहेछ भन्ने ऐना पनि देखाइदिएको छ। रुपन्देहीदेखि झापासम्म र म्याग्दीदेखि मुस्ताङसम्मका प्रारम्भिक मतपरिणामहरूले एउटै कुराको उद्घोष गरिरहेका छन्– नेपाली मतदाता अब ‘आस्था’को दास रहेनन्, उनीहरू ‘परिणाम’को भोका भएका छन्।

रुपन्देही-२ को दृश्य हेरौं। एमालेका उपाध्यक्ष एवं प्रभावशाली नेता विष्णु पौडेल, जो बुटवलको विकासका पर्याय मानिन्थे, उनी अहिले रास्वपाका सुलभ खरेलभन्दा झण्डै चार गुणा मतले पछाडि छन्। १३ हजार ८ सय ६९ मत भर्सेस ३ हजार १ सय ३३ मत। यो अंकगणित मात्र होइन, यो दशकौंदेखि जरा गाडेर बसेको एउटा दलीय विरासतमाथि मतदाताले गरेको निर्मम ‘सर्जिकल स्ट्राइक’ हो। जब मतदाताले आफूलाई उपेक्षित र आफ्ना एजेन्डालाई ओझेलमा परेको महसुस गर्छन्, तब उनीहरू ‘साइज’ नहेरी ‘साहस’ हेर्छन्। सुलभ खरेलको अग्रता त्यही साहसको प्रतिबिम्ब हो।

झापा-५ मा पनि उस्तै परकम्प छ। एमाले अध्यक्ष केपी शर्मा ओली, झापा जसको ‘अभेद्य किल्ला’ को राजा मानिन्थ्यो, उनलाई रास्वपाका बालेनले पछाडि पारिरहेका छन्। ५ हजार भर्सेस १ हजारको यो अन्तरले के स्पष्ट पार्छ भने मतदाता अब पुराना नेतृत्वको ‘वाकचातुर्य’मा मात्रै अल्झिन तयार छैनन्। उनीहरूलाई ठोस काम र नयाँ अनुहारको हुटहुटी छ। बालेनको उम्मेदवारी र प्राप्त मतले परम्परागत पार्टीका कार्यकर्ताहरूलाई एउटै सन्देश दिएको छ— ‘अबको राजनीति भाषणले होइन, भिजन र डेलिभरीले चल्नेछ।’

काठमाडौँ र बाहिरका अन्य क्षेत्रहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जुन स्तरको ‘क्लिन स्विप’ रफ्तार देखाएको छ, यसले नेपाली कांग्रेस र नेकपा एमाले जस्ता पुराना खम्बाहरूलाई आत्मसमीक्षाको मौका दिएको छ। काठमाडौँ-९ मा डीपी अर्यालको एकतर्फी दौड होस् वा मोरङ-६ मा शेखर कोइराला जस्ता हस्ती रुविना आचार्यसँग ५ गुणा मतले पछाडि— यी घटनाक्रम सामान्य होइनन्। रुविनाको अग्रताले विराटनगरको कोइराला खानदानको बिरासतलाई मात्र चुनौती दिएको छैन, राजनीतिमा युवा सहभागिता र सामाजिक सेवाको महत्त्वलाई पनि पुन: स्थापित गरेको छ।

यद्यपि, पुराना शक्तिहरू पूरै ‘आउट’ भइसकेका भने होइनन्। मुस्ताङमा ३२ वर्षीय योगेश गौचनको विजय पिताको विरासत मात्र होइन, युवा पुस्ताप्रतिको भरोसा पनि हो। तर, भक्तपुरमा महेश बस्नेत र रुपन्देहीमा विष्णु पौडेल जस्ता ‘सङ्गठनका खम्बा’हरूले रास्वपाका राजीव खत्री र सुलभ खरेलसँग खानु परेको हन्डरले एउटा डरलाग्दो प्रश्न खडा गरेको छ— के पार्टी सङ्गठन अब केवल कागजमा मात्र सीमित भएको हो?

भोटको यो सुनामीमा ‘नेपाली कम्युनिस्ट पार्टी’ का संयोजक प्रचण्डले रुकुमपूर्वमा लिएको अग्रता एउटा अपवाद जस्तो देखिन्छ। तर, उनलाई पछ्याइरहेका लीलामणि गौतमहरूको मतले पनि के देखाउँछ भने कम्युनिस्ट आन्दोलनभित्रको आन्तरिक कलह र पटक-पटकको समीकरण फेरबदलबाट मतदाता वाक्क छन्। मतदाताले यसपटक ‘विचार’ भन्दा बढी ‘व्यक्ति’ र ‘विकल्प’ लाई रोजेका छन्।

काठमाडौँ-५ मा ईश्वर पोखरेल तेस्रो स्थानमा खुम्चिनु र सस्मित पोखरेलले प्रदीप पौडेललाई समेत उछिन्नुले रास्वपाको लहर ‘हल्ला’ मात्र नभएर एउटा ‘आँधी’ रहेको पुष्टि गरेको छ। ४१ हजार बढी मत खसेको म्याग्दीमा महावीर पुन जस्ता स्वतन्त्र उम्मेदवारले धाैलागिरिको उचाइबाट लिएको अग्रताले त झन् राजनीतिलाई ‘सेवा र विज्ञान’ सँग जोड्न खोज्नेहरूको जितलाई संकेत गर्छ।

नेपाली राजनीतिका ‘हेभिवेट’ हरूले आफूलाई र आफ्नो दललाई जुन ‘स्थायी शक्ति’ सम्झिएका थिए, त्यसलाई आजको मतपेटिकाले भ्रम सावित गरिदिएको छ।

यो निर्वाचनको प्रारम्भिक रुझानले नेपाली राजनीतिमा केवल सत्ताको फेरबदल मात्र होइन, एउटा गहिरो दार्शनिक उथलपुथलको पनि सङ्केत गरेको छ। इतिहासकार युवल नोहा हरारीले ‘ट्वान्टी वान लेसन फर द ट्वान्टी वान सेन्चुरी’ पुस्तकमा भनेझैं, “मानव इतिहासमा कुनै पनि कुरा स्थायी छैन, चाहे त्यो शक्तिशाली साम्राज्य होस् वा दशकौंदेखि जरा गाडेको राजनीतिक विचारधारा।” हरारीका अनुसार हामीले जसलाई ‘अपरिवर्तनीय’ सत्य मान्छौं, ती केवल हाम्रो कल्पनाले सिर्जना गरेका फिक्सनल कथाहरू हुन्।

विष्णु पौडेलको बुटवल ‘होम’ होस् वा शेखर कोइरालाको विराटनगर ‘विरासत’— यी सबै आज हरारीले भनेझैं ‘अनित्य’ सावित भएका छन्। जब एउटा कथाले काम गर्न छोड्छ, मानव समाजले तत्कालै अर्को कथा (नयाँ विकल्प) को खोजी गर्न थाल्छ।

यो निर्वाचनले एउटा कुरा प्रष्ट पारेको छ— राजनीतिमा न कसैको ‘गढ’ स्थायी हुन्छ, न कसैको ‘विरासत’। हरारीको दर्शनले सिकाएझैं, हिजोका दिनमा विशाल मानिएका वृक्षहरू आज ढलिरहेका छन् र नयाँ बिरुवाहरू अङ्कुराउँदै छन्।

यदि पुराना दलहरूले हरारीको यो ‘अनित्यताको सिद्धान्त’ लाई बुझेर आफूलाई रुपान्तरण गरेनन् भने, उनीहरूको अस्तित्व केवल म्युजियमको एउटा कुनामा सीमित हुनेछ। एमाले, कांग्रेस र नेकपाले यो गहिरो सत्यलाई कति चाँडो आत्मसात् गर्छन्, त्यसैमा उनीहरूको आगामी यात्रा निर्भर रहनेछ। तर, मतपेटिकाबाट निस्किएको यो रापले एउटा कुरा भने पक्का गरेको छ— अब नेपालको राजनीतिमा ‘पुरानो स्थिरता’ को अन्त्य भएको छ र एउटा ‘अनिश्चित तर गतिशील’ नयाँ युगको सुरुवात भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x