शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोज्याे – पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोजेको ब्रिफिङ गरेका छन् ।

शुक्रबार बिहान बानेश्वरस्थित ल्होत्से हलमा आफूले डाकेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले सहकारी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न सक्ने सूचना पाएको बताएका हुन् ।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार हिजो सत्तारूढ दलको टीआरसीसम्बन्धी छलफल गर्ने बैठकमा आफूले रवि पक्राउ पर्नसक्ने सूचना पाएको बताएका हुन् । ‘प्रचण्डजी हिजो सत्तारूढ दलको टीआरसीसम्बन्धी छलफल गर्ने बैठकमा जानुभएको थियो । त्यही बैठकमा गएर आएपछि उहाँले हाम्रो सभापति रवि लामिछानेलाई सरकारले पक्राउ गर्न खोजेजस्तो सूचना पाएको बताउनुभएको छ,’ उपसभापति अर्यालले लोकान्तरसँग भने, ‘प्रचण्डजीले टीआरसीसम्बन्धी बैठकमा व्यक्ति केन्द्रित र राजनीतिक प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्छ । दल र जनताले प्रतिवाद गर्छन् भनेर सचेत गराएर आएको छु भन्नुभएको छ ।’

विपक्षी दलहरूको बैठकले व्यक्तिकेन्द्रित प्रतिशोध साध्ने काम गरे एक भएर प्रतिवाद गर्ने निर्णय गरेको पनि अर्यालले जानकारी दिए ।

विपक्षी दलको बैठकले नागरिकका सरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई सामूहिक रूपमा भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको पनि अर्यालले जानकारी दिए । ‘नागरिकले महसुस गर्नेगरी सरकारले कुनै नतिजा नै दिन सकेन । यसैले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई विपक्षीले सामूहिक रूपमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेका छन्,’ अर्यालले भने, ‘हाम्रो ध्यानाकर्षणलाई बेवास्ता गरे संसदको विशेष अधिवेशन बोलाउने विषयमा दबाब दिने निर्णय पनि हाम्रो छ ।’

बैठकमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी नेताहरू सहभागी छन् । बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपाध्यक्षद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ सहभागी भएका थिए । सभापति पक्राउ पर्न सक्ने आशंकाबीच रास्वपाका आधा दर्जन नेता विपक्षी दलको बैठकमा सहभागी भएका हुन् ।

बैठकमा राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल सहभागी भएका थिए । बैठकमा सत्तारूढ लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका थिए ।

सहकारी ठगी प्रकरणमा पक्राउ पर्ने आशंकाबीच लामिछाने बानेश्वरबाट उपाध्यक्ष अर्यालको गाडी चढेर केन्द्रीय कार्यालयतर्फ लागेका थिए ।
संसदीय विशेष छानबिन समितिले विभिन्न मिडियाबाट गोर्खा मिडियामा आएको करोडौं रुपैयाँ खर्च गर्नमा संलग्न रहेको भन्दै कारबाही सिफारिस गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x