अमेरिकाकाे ३० भन्दा बढी देशमा यात्रा प्रतिबन्ध विस्तार गर्ने तयारी
अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यात्रा प्रतिबन्धलाई ३० भन्दा बढी देशमा विस्तार गर्न लागेको बताएकी छन्। पछिल्लो समय अफगानिस्तानबाट आएका एक व्यक्तिले दुई जना राष्ट्रिय सुरक्षा दल सदस्यमाथि गोली चलाएको घटनापछि सरकारले कडाइ बढाएको हो।
यसअघि जून महिनामा प्रशासनले १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको थियो र ७ देशका नागरिकलाई कडा सीमिततासहित मात्र अनुमति दिइएको थियो। अब थप देशहरू समावेश हुने संकेत नोएमले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्।
फक्सन्यूजमा दिएको अन्तर्वार्तामा उनले कुन–कुन देश थप हुने भन्ने खुलाउन चाहिनन्, तर राष्ट्रपति ट्रम्पले सूची हेर्दै गरेको बताए। उनका अनुसार, यदि कुनै देश स्थिर छैन, आफ्ना नागरिकको पहिचान पुष्टि गर्न सक्दैन वा अमेरिकालाई सुरक्षा जाँचमा सहयोग गर्न सक्दैन भने त्यहाँबाट मानिसहरूलाई प्रवेश किन दिनु भन्ने प्रशासनको तर्क रहेको छ ।
अफगानिस्तान, सोमालिया, इरान र हैटी सहित १९ देशमाथि पहिल्यै अतिरिक्त प्रतिबन्ध लगाइएका छन्। धन्यबाद दिवस (थ्यांक्सगिभिङ्ग )पर्वको सप्ताहमा भएको गोलीकाण्डपछि प्रशासनले आप्रवासनसम्बन्धी निर्णयहरू रोक्ने, १९ देशका नागरिकले अमेरिकी नागरिक बन्ने समारोह स्थगित गर्नुको साथै अन्य कागजात स्थगित गर्ने र अमेरिकालाई सहयोग गरेका अफगान नागरिकहरूको प्रवेशाज्ञा प्रक्रिया रोकेर कडाइ बढाएको छ।
गोलीकाण्डमा संलग्न अफगान मूलका रहमानुल्ला लकनवालमाथि पहिलो दर्जाको हत्या अभियोग लागेको छ। एकजना राष्ट्रिय सुरक्षा दल सदस्यको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते अवस्थामा रहेका छन्। ट्रम्प प्रशासनले सुरक्षा सुनिश्चितताका लागि थप जाँच आवश्यक भएको दाबी गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE