मेरो जन्मभूमि

कविता
म रहरले विदेशीएको होईन
मेरो जन्मभूमि
विदेशिनु बाध्यता थियो
महङ्गीले आकाश छोएको थियो
थाप्लो माथि साहुँको ऋण थियाे
पैसामै मान सम्मान ईज्जत हुने यो दुनियाँमा
न त म कसैको थिए
न त मेरा कोही थिए
त्यसैले,
लाखौलाख कमाउने सपनामा
डुब्ने बेलाका घामजस्ता मेरा मातापिता
चन्द्रमा जस्ती मेरी उनी
काखका शाेभा नानी बाबुलाई
चटक्क छोडी
जब म सपनाको भारी बोकेर कल्पनाको पछाडि दौडेर आए
तिमीले तप्तप्ती आँसु झारेको म सम्झन्छु
मेरो जन्मभूमि,
आज सात समुद्र पारिको देशमा
मुटु चलाउने पेट पाल्न पनि गाह्रो छ
न त सोचे जस्तो कमाउन नै सकेको छु
न त घरदेशको मायाले रमाउन नै सकेको छु
आफ्नै लेक बेसीको सम्झना आउँछ
झलझली लाउछ
मन चरक्क चिरिन्छ हृदय बेदनाले पिरिन्छ
अनि
कुटुकुटु दुखिरहन्छ मुटु
मेरो जन्मभूमि
सात समुद्रपारिको यो देशमा
न त चाहे जस्तो काम पाएको छु
न त नेपाली हो भन्ने नाम पाएको छु
एक्ला एक्लै बर्बराईरहेको छु
लाखौको भिडमा हिंडिरहेको छु
आफ्ना दुःख पीडा र अभावसंग भिडिरहेको छु
साँहुको ऋण तीर्न सके
न मरी बाँचे पक्कै फर्केर आँउला
तिम्रै काखमा रमाउँला ,
एक छाक मकै र एक छाक भोकै भए पनि रमाउँला
माया मारेर गयो नभने जन्मभूमि म पक्कै फर्केर आउँला
शिक्षक :श्री शारदा मा. वि गोकुलगंगा २ रामेछाप
WRITE COMMENTS FOR THIS ARTICLE