शनिबार, कार्तिक ८, २०८२
Saturday, October 25, 2025

जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब- प्रम कार्की

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते जेनजी युवाको नेतृत्वमा भएको प्रदर्शनलाई युवापुस्ताको आकाङ्क्षा, बढ्दो चेतनास्तर र मुलुकमा व्याप्त भ्रष्टाचारप्रतिको असन्तोषको प्रतिविम्ब भएको बताएकी छिन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को मूल समारोहमा उनले सुशासन र विकासमा देखिएका कमी कमजोरीकै कारण यस्तो आन्दोलन जन्मिएको स्वीकार गर्नुपर्ने धारणा राखेकी छिन्।

उनि भन्छिन्- ‘यस आन्दोलनलाई लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग जोडेर हेर्छु । युवापुस्ताले शासनमा सहभागिता खोज्छ, आफ्नो विचार नीतिगत तहमा देख्न चाहन्छ।’ उनले थप जोडिन् – ‘सरकार युवा, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारूलगायत सबैको अपेक्षा सम्बोधन गर्न दृढ संकल्पित छ ।’

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माण, व्यावसायिक प्रतिष्ठानलाई पुनःउत्थान र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्नुपर्नेमा जोड दिएकी छिन्। तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याएकि छिन्।

समारोहमा प्रधानमन्त्रीले संविधान दिवसलाई उत्सव मात्र नभई मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै विगत एक दशकमा संविधान कार्यान्वयनका उपलब्धि र कमजोरीको गहिरो समीक्षा आवश्यक रहेको उल्लेख गरेकी छिन्। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा समान पहुँच, सुशासन र स्रोतसाधनको प्रभावकारी प्रयोग सबै तहका सरकारका साझा चुनौती रहेको उनको भनाई रहेको छ।

अन्तरिम सरकार प्रमुखको रूपमा आफू कुनै व्यक्तिगत आकाङ्क्षा वा पदलोभका लागि नभई संकटका घडीमा युवापुस्ताको आग्रहअनुसार जिम्मेवारी सम्हालेको स्पष्ट गर्दै उनले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याएकि छिन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, उच्च पदस्थ अधिकारी तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x