बिहिबार, बैशाख १०, २०८३
Thursday, April 23, 2026

पतञ्जली जग्गा हिनामिना प्रकरण: ५ अभियुक्तको नाममा पत्रिकामा सूचना जारी गर्न आदेश

काठमाडाैं – विशेष अदालत काठमाडौँले पतञ्जली जग्गा हिनामिना प्रकरणमा ५ जना अभियुक्तको ठेगाना पत्ता नलागेको भन्दै उनीहरूको नाममा पत्रिकामा सूचना प्रकाशन गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार यस्तो आदेश जारी गरेको हो।

विशेष अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले भने, “अहिलेसम्म ५ जना प्रतिवादीको ठेगाना पत्ता लगाउन नसकेकाले उनीहरूको नाममा पत्रिकामा सूचना प्रकाशन गर्न आदेश भएको छ। एक जनाले म्याद बुझेर पनि अदालतमा उपस्थित भएका छैनन्।”

यो मुद्दामा ९३ जना अभियुक्तमध्ये ८७ जना प्रतिवादका लागि अदालतमा उपस्थित भइसकेका छन्। एक जनाले म्याद बुझेर पनि प्रतिवाद गरेका छैनन्।

यो प्रकरणका मुख्य अभियुक्तहरूमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह र पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायत छन्। माधव नेपाल र शालिग्राम सिंहले जनही ३५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने पूर्वमन्त्री सिंहले ५० हजार रुपैयाँ धरौटी बुझाएका छन्।

गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उद्योग सञ्चालनका लागि हदबन्दी छुट दिइएको जग्गा उद्योग नचलाई दुई महिनाभित्रै कानुनविपरीत बिक्री गर्न नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले स्वीकृति दिएको आरोप छ।

मन्त्रिपरिषद्को निर्णयअघि तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई नेपालले जग्गा बिक्रीको प्रस्ताव ल्याउन निर्देशन दिएका थिए। सोही प्रस्तावअनुसार मन्त्रिपरिषद्ले जग्गा बिक्रीको बाटो खोलिदिएको थियो। तत्कालीन मन्त्री श्रेष्ठको गत वर्ष निधन भइसकेको छ।

यो प्रकरणमा तत्कालीन मुख्य सचिव माधव घिमिरे पनि संलग्न थिए। तर, १० वर्षअघि त्रिशुली नदीमा जिप दुर्घटनामा उनी बेपत्ता भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x