बागमती प्रदेश सरकारले पूर्णता पायाे

बागमती प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पाँच मन्त्री नियुक्त गरेसँगै बागमती क्याबिनेटले पूर्णता पाएको हो।
कांग्रेसको भागमा रहेको पाँचवटा मन्त्रालयमा बानियाको सिफारिसमा प्रदेश प्रमुख प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई आजै बागमती प्रदेश प्रमुख देवकोटाले शपथ ग्रहण गराए।
सहकारी तथा गरिबी निवारण मन्त्रालयमा विनु रायमाझी, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला नेपाल र आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रभात तामाङ नियुक्त भएका हुन्।
साउन २० गते मन्त्री नियुक्त भएका शिवराज अधिकारीलाई पनि विभागीय जिम्मेवारी तोकिएको छ। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ।
१४ मन्त्रालय रहेको बागमती प्रदेशमा कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित ८ र एमालेको भागमा छ मन्त्रालय रहेको छ।
जसमा मुख्यमन्त्री सहित कांग्रेसका दुई मन्त्री साउन २० मै नियुक्त भैसकेका थिए भने एमालेको भागमा रहेको छ मन्त्री पनि सोही दिन नियुक्त भएर पदभार ग्रहण गरिसकेका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE