बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

लामिछानेको मुद्दा आर्थिक अपराधसम्बन्धी भएकाले मिलापत्र हुन सक्छ- रमन श्रेष्ठ

काठमाडाैं – पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठ रवि लामिछानेको मुद्दा आर्थिक अपराधसम्बन्धी भएकाले मिलापत्र हुन सक्ने र थुनाबाहिरै राखेर मुद्दा लड्न पाउनुपर्ने भए पनि सरकारका कारण प्रभावित बनेको बताउँछन् । ‘ठगीको केस भएकाले रविको मुद्दा आर्थिक अपराधसम्बन्धी सरकारवादी मुद्दा हो । यस्तो मुद्दामा मिलापत्र हुन सक्छ । ३ वर्षभन्दा बढी कैद सजाय हुनेमा थुन्न सकिने व्यवस्था त छ, तर आर्थिक अपराधमा थुनिँदैन । १०–१२ वर्ष कैद हुने भ्रष्टाचारको मुद्दामा त धरौटीमा छोड्या छ । त्यसैले, रविको मुद्दामा सरकारमाथि शंका गर्ने र प्रश्न उठ्ने ठाउँहरू प्रशस्त छन् । यो सबै सरकारको हस्तक्षेपको परिणाम हो,’ उनले भने, ‘सबै ठाउँमा सरकारको इन्फ्लुएन्स (प्रभाव) छ । न्यायालयमा पनि छ । दलको भागबन्डामा बनेका न्यायाधीशहरू छन् । त्यसको असर रविजीलाई पनि परेको छ ।’
सहकारी ठगीसम्बन्धी फौजदारी कसुरमा मेलमिलाप हुन सक्छ भन्ने सर्वोच्च अदालतकै स्थापित नजिर छ । सहकारी ऐनले पनि मिलापत्रलाई स्पष्ट प्राथमिकतामा राखेको छ । सहकारी ऐन, २०७४ को दफा १३१(क)मा ‘बचतकर्ताको बचत रकम भुक्तानी दिन नसकेको वा बचत रकम हिनामिना गरिएको वा सहकारी ठगी गरिएको भनी दफा १३० बमोजिम मुद्दा दायर भई अदालतमा विचाराधीन रहेको मुद्दा वा प्रचलित कानुनबमोजिम मिलापत्र गर्न सकिने अन्य फौजदारी मुद्दामा सदस्यको बचत रकम वा हिनामिना भएको बचत रकम फिर्ता गरिएकाले मिलापत्र गराइपाऊँ भनी निवेदन दिएमा मिलापत्र हुन सक्नेछ,’ भन्ने व्यवस्था गरिएको छ । सोही दफाको उपदफा (३) मा लेखिएको छ, ‘त्यस्तो मिलापत्र फैसला कार्यान्वयनको चरणमा समेत गर्न सकिने र त्यस्तै गरी मिलापत्र भएको खण्डमा प्रतिवादीलाई लागेको दण्ड, जरिवाना र बिगो तिर्नु, बुझाउनुनपर्ने तथा कैद भइसकेको खण्डमा कैदको लगतसमेत कट्टा हुनेछ ।’
ऐनले नै बचतकर्ताको रकम सुनिश्चिततालाई प्राथमिकतामा राखे पनि सरकारले पीडितको रकम फिर्ताभन्दा अभियुक्तलाई थुन्ने उद्देश्य राखेको देखिन्छ । यसमा राजनीतिक प्रतिशोधले काम गरेको श्रेष्ठ बताउँछन् । रविले रिहाइका लागि दिएको निवेदनका आधारमा पनि अदालतले छाड्न सक्ने उनको भनाइ छ । ‘धेरै लामो समयसम्म थुनामा बस्नुपर्ने स्थिति भयो भने पहिल्यै थुनामा राखेको आदेश छ भने पनि छुट्नका लागि निवेदन दिन सकिन्छ । अदालतले पनि आदेश गर्न सक्छ । कानुनमा थुनेको मान्छेलाई छाड्न सकिने प्रावधानहरू छन्,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x