कोशी प्रदेशमा मन्त्री छनोटको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि
विराटनगर– कोशी प्रदेशमा नेकपा र नेकपा एमालेबीच सत्ता सहकार्यको तयारी भइरहेका बेला मन्त्री छनोटको विषयलाई लिएर नेकपाभित्र असन्तुष्टि बढेको छ ।
विशेषगरी नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यलाई फेरि प्रदेश सरकारमा मन्त्रीमा सिफारिस भएपछि पार्टीभित्र विवाद चर्किएको हो ।
कोशी प्रदेश सभामा नेकपाका १७ सांसद छन् ।
तीमध्ये १५ जना मन्त्रीका आकांक्षी रहेको बताइएको छ ।
यस्तो अवस्थामा यसअघि नै पटक–पटक मन्त्री बनिसकेका आचार्यलाई फेरि अवसर दिन खोजिएको भन्दै पार्टीभित्र प्रश्न उठेको छ ।
आचार्य यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री तथा उद्धव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए ।
पार्टीभित्रका केही नेताले लामो समयदेखि संगठनमा योगदान गरेका र अहिलेसम्म अवसर नपाएका सांसदलाई पनि सरकारमा सहभागी गराउनुपर्ने माग गरेका छन् ।
उनीहरूले मन्त्री छनोटमा पारिवारिक सम्बन्धभन्दा क्षमता, योगदान, वरिष्ठता र समावेशितालाई आधार बनाउनुपर्ने बताएका छन् ।
नेकपा र एमालेबीच सत्ता सहकार्यको तयारी भइरहे पनि सरकार विस्तारअघि नै नेकपाभित्र देखिएको यो विवादले नेतृत्वका लागि मन्त्री छनोट चुनौतीपूर्ण बनेको छ ।
निर्णय पारदर्शी नभए असन्तुष्टि संगठनभित्र थप फैलिन सक्ने नेताहरूको आकलन छ ।
अहिले विवादको केन्द्रमा जीवन आचार्य भए पनि यसले नेकपाभित्र अवसर वितरण र नेतृत्वको निर्णय प्रक्रियामाथि उठेको ठूलो प्रश्नलाई उजागर गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE