शेयरबजारमा दुई दिन पनि टिकेन तीन हजारको उचाई

काठमाडौं – साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार घटेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ३१.५० अङ्क घटेर २९२२.६३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.७१ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.०७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अङ्क घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधवार १६ अर्ब ४४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा ३१८ स्टकको १ लाख ६८ हजार ५९४ पटकको कारोबारमा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँबराबरको ३ करोड ६८ लाख ७१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बिहीबार २ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ट्रेड टावर र नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैङ्क, ग्रीन डेभलपमन्ट बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैङ्कको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैङ्कको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कमपनीको सेयरमूल्य सर्वाधिक ७.१० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम ६९ करोड रुपैयाँ नाघेको छ ।
बिहीबार वित्त उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक १।१८ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.४४ प्रतिशत घटेको छ भने बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE