आज २३ जिल्लामा ‘एल्लो अलर्ट’, सतर्क रहन आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साउन १० शनिबार देशका विभिन्न क्षेत्रमा बाढी र मौसमी जोखिमको सम्भावनाबारे जानकारी जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर भए पनि कोशी, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा र बाढीको जोखिम कायम रहेको बताएको छ । विशेषगरी २३ जिल्लामा स–साना नदी र खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै ‘एल्लो अलर्ट’ जारी गरिएको छ । साथै, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र तराई–मधेशमा हावाहुरीको सम्भावना पनि रहेको छ ।
यसैगरी सोलुखुम्बु, रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, मकवानपुर, कास्की, गोरखा, लमजुङ, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, कालिकोट, बझाङ, डडेलधुरा, डोटी र आसपासका क्षेत्रमा मध्यम बाढीको सम्भावना देखाएको छ । यी जिल्लाहरूमा बहने स–साना नदी र खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । बाढीले बस्ती, कृषि, सडक र अन्य पूर्वाधारमा क्षति पु¥याउन सक्ने भएकाले नदी किनारमा बस्ने बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिइएको छ ।
यसैगरी मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली र बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनाको सम्भावना देखाएको छ । अर्कोतर्फ आज कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि देखाएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको ‘एल्लो अलर्ट’ लाई गम्भीरतापूर्वक लिँदै सर्वसाधारण र सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE