बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष

काठमाडौं –  नेपाली कांग्रेसका ‘सात भाइ’ले संविधान संशोधनको प्रक्रिया नेपाली कांग्रेस र नेकपा एमालेबिच सरकार गठनका बेला भएको सहमतिअनुरूप अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री रहेका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा कांग्रेसका सात पूर्व पदाधिकारीले दुई दलबिचको सात बुँदे सहमतिअनुरूप संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा पूर्व उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, सिंह र डा.शशांक कोइराला तथा पूर्वसहमहामन्त्री तथा वर्तमान कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सहभागी थिए ।

बैठकपछि पूर्वमहामन्त्री सिटौलाले बैठकले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए । ‘कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएको थियो । त्यो सुरु हुन सकेको छैन,’ सिटौलाले भने, ‘अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

त्यस्तै बैठकमा गठबन्धन सरकारले अझै राम्रो काम गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । सिटौलाले भने, ‘सरकारले जनताको हितमा अझै राम्रो काम गर्न सक्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले यसबारे उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे बैठकको निष्कर्ष राख्ने र त्यसै अनुसारको पहल कदमी लिन आग्रह गर्ने पनि बताए ।

उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने गरी विभिन्न स्थानमा बहस गर्ने निष्कर्ष  पनि निकालेका छन् । गठबन्धनको भावनाअनुरूप सरकारले काम गर्नुपर्ने र यही गठबन्धनलाई २०८४ को निर्वाचनसम्म निरन्तरता दिनुपर्ने पनि उनीहरूको निष्कर्ष छ ।

यी सात नेताहरूको बैठक यसअघि श्रेष्ठ र कोइराला निवासमा बसिसकेको छ ।  आज सिंहले संयोजन गरेर बैठक बोलाएका हुन् ।

महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी उनीहरूले बैठक गर्दै आएका छन् ।  सात भाइका तर्फबाट कांग्रेसको १५ औँ महाधिवेशनमा एउटा प्यानल बनाउने विषयमा पटक–पटक छलफल भए पनि सहमति हुन सकिरहेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x