शनिबार, कार्तिक २२, २०८२
Saturday, November 8, 2025

दलबलसहित अख्तियार पुग्यो राप्रपा

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले चर्चामा रहेका ठुला भ्रष्टाचार काण्डको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ। शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले प्रदर्शनसहित अख्तियार पुगेर ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमा ‘नेपालमा भ्रष्टाचार महामारीका रूपमा फैलिँदै गएको’ दाबी गर्दै त्यो कुरा आयोगको वार्षिक प्रतिवेदनले नै पुष्टि गरेको भनिएको छ।

‘केन्द्र, प्रदेश र स्थानीय तहका बिच भ्रष्टाचारका लागि प्रतिस्पर्धा जस्तो देखिन्छ। अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने परिस्थिति निर्माण भएको छ,’ राप्रपाको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा लाग्छ मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्।’

अख्तियारकै प्रमुख आयुक्तले ‘भ्रष्टाचारमा रकमको डिल विदेशमा नै हुने गरेको’ भन्ने भनाई दिएकाले पनि ‘नेपालमा हुने भ्रष्टाचारको तह र व्यापकता प्रस्ट हुन्छ’ भनेर राप्रपाले दाबी गरेको छ।

‘ट्रान्सपरेन्सी इन्टरनेसनलको विभिन्न समयका प्रतिवेदनले नेपाल भ्रष्ट राष्ट्रहरूमा सूचीकृत हुनु सम्पूर्ण नेपालीहरूका लागि लज्जाको विषय हो,’ राप्रपाको  ज्ञापन पत्रमा भनिएको छ।

यस्तै आयोगबाट भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका काम प्रशस्त भए पनि ठुला भ्रष्टाचारका काण्डहरू सुडान घोटाला, ललिता निवास, वाइड बडी, क्यान्टोन्मेन्ट, ओम्नी, एनसेललगायतमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर परेको राप्रपाको दाबी छ।

‘राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्नहरू उठेका छन्,’ ज्ञापन पत्रमा भनिएको छ, ‘राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठुला भ्रष्टाचारहरू कर्मचारी संयन्त्रबाट मात्र हुन सक्छन भन्ने कुरामा विश्वास गर्न सकिँदैन र भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन सक्दैन भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको ठहर छ ।’

यस्तै निकट विगतको नक्कली भुटानी शरणार्थी, सहकारी ठगी, रड सिमेन्ट लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्यवृद्धि, वर्तमानको भिजिट भिसा र मन्त्रीहरूको अडियो प्रकरण नेपाल र नेपाली जनतालाई विश्व समुदायमा बदनाम गर्ने केही प्रतिनिधि घटना भएको उल्लेख गर्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मणिपाल मेडिकल कलेज, चाइनिज विमान खरिद काण्ड, खरबौँ कृषि अनुदानको दुरुपयोग लगायतका चर्चित र ठुला भ्रष्टाचार काण्डहरूमा अनुसन्धान र कारबाहीका लागि भइरहेको ढिलासुस्ती र उदासीनतामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x