मङ्लबार, असार २, २०८३
Tuesday, June 16, 2026

ओली फाल्ने र बोक्नेबीच एमाले लडाइँ, बैठकमै बादल–गोकुलबीच नोकझोँक

काठमाडाैं – उकुसमुकुसमा रहेको नेकपा एमालेको आन्तरिक शक्ति संघर्ष सतहमै आएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई फाल्न चाहने र बोकिरहनेबीचको संघर्ष सतहमै आएको हो । एमाले पार्टी फुट्दै छ भन्ने भाष्य नेतृत्वले नै बनाएपछि नेताहरू थप मुखरित भएका छन् ।

११औँ महाधिवेशनबाट ओली अध्यक्षमा १६६३ मत पाएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै ल्याएका थिए । बाँकी पदाधिकारीमा पनि ओलीको जित एकलौटी थियो । उपाध्यक्ष विष्णु पौडेल र महासचिवमा शंकर पोखरेल ओलीकै चाहनाअनुसार आएका थिए । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईबाहेकको जम्बो पदाधिकारीमा ओलीकै टिमबाट जितेका थिए ।

त्यसैले यति शक्तिशाली भएका ओलीको नेतृत्वमा यति छिट्टै प्रश्न उठ्छ भन्ने थिएन । देखिनलाई हालसालै एमालेमा यस्तो चरम अन्तर्विरोध देखिएको छ । तर, यो आजको समस्या होइन । गत २३ र २४ भदौ २०८२ मा भएको जेन–जी विद्रोहपछि पार्टीभित्र बढेको उकुसमुकुसको परिणाम हो । यसलाई २०८२ मा मात्रै नेतृत्वमा शक्तिशाली भएर आएका अध्यक्ष केपी ओलीलाई पनि झेल्न सहज भइरहेको छैन ।

यस्तै असहजतालाई व्यक्त गर्दै ओलीले गुण्डुमा आफ्ना निकटस्थलाई बोलाएर २०५४ र २०७८ मा एमाले विभाजन भएको नजिरसहित शनिबार भनिदिए– ‘उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लोभीपापी हुन् । यिनीहरूले जतिसुकै बेला पार्टी फुटाउन सक्छन् । सावधान हुनुपर्छ ।’

पार्टीमा किचलो बढेपछि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय पुनर्गठन सुझाव कार्यदल बनेको थियो । १० जेठमा निर्णय भएपछि कार्यदलले बल्ल शनिबार पेप्सिकोलामा बागमती प्रदेशका समितिसहितको छलफल गर्‍यो । सोही बैठक आफूअनुकूल नभएपछि ओलीले विश्वासपात्र नेताहरूलाई निवास गुण्डुमा बोलाएर पार्टी फुटाउन सक्नेसम्मको अभिव्यक्ति दिएका हुन् ।

बागमतीको बैठकमा कार्यदल संयोजक बादलले खुलेर ओलीको बचाउ गरेका थिए । ‘एमाले एमालेजस्तो भएन । नेतृत्व अप्ठ्यारोमा परेको बेला बचाउन लाग्नुपर्नेमा गुट र उपगुटमा लाग्नु राम्रो होइन,’ बादलले भनेका थिए, ‘एउटा जीवन्त पार्टी अप्ठ्यारोमा छ, गुटको छुट छैन । पार्टीमा अनुशासन भएन । यसरी पार्टी चल्न सक्दैन ।’

बादलकै नेतृत्वको कार्यदललाई एक महिनाको मात्रै समय दिइएको थियो । तर, ढिलो गरी शनिबारबाट मात्रै छलफल थालेकाले नेताहरू उसै आक्रोशित थिए ।

सो बैठकमा गोकुल बाँस्कोटा, आनन्द पोखरेलसहितका नेताले नेतृत्वप्रति आपत्ति नै जनाएका थिए । नेता पोखरेलले १० बुँदा प्रस्तुत गर्दै ओलीकै कारण यसअघि नेकपा एकीकरण धरापमा परेको, पछिल्लो जेन–जी विद्रोह भएको गम्भीर विषय उठाएका थिए । त्यसैले अब ओलीलाई निरन्तरता दिएर जान नसकिने मत राखेका थिए ।

बादलले समानुपातिकको विरोध गरेको, नेतृत्वको आलोचना गर्ने को हुन् भन्दै बोलेपछि बाँस्कोटा मैले विरोध गरेको हो भन्दै उठेका थिए ।

‘मेरोबारेमा पनि अनेक व्यक्तिगत टिप्पणी भएका छन् । समानुपातिकमा मात्रै बसेको, अवसर लिएको भनेर बोलिएका छन् । यसरी कसले बोलेको हो ?,’ बादलले प्रश्न गर्दै सोधेको जवाफमा नेता बाँस्कोटाले भने, ‘म चारपल्ट चुनाव लडेर हार्दा चुप बसेँ । जित्दा मन्त्री खाएँ । अर्कोपटक जित्दा मन्त्री नभई पार्टीको काम गरियो । तर, पटकपटक हारेर पनि समानुपातिक ओल्टाइपल्टाइ आउने, कहिले मन्त्री, कहिले के समानुपातिक नछोड्ने भएपछि मैले विरोध गरेको हुँ । यस्तो प्रवृत्ति गलत छ ।’

ठूलो नेता भन्ने, जबज मान्छु भन्ने तर प्रतिस्पर्धालाई बेवास्ता गरेको भन्दै बाँस्कोटाले आलोचना गरेका हुन् ।

‘ठूलो नेता भन्ने, जबज मान्छु भन्ने तर प्रतिस्पर्धामा नजाने ओल्टाइपल्टाइ खाने, समानुपातिकभन्दा अरु नताक्ने भएपछि विरोध गर्ने हो, गलत हो भनेर बोल्ने नै हो,’ बाँस्कोटाको भनाइ भनाइ उद्दृत गर्दै एक नेताले भने, ‘धेरै भए कारबाही गर्ने होला । चुनावमा टिकट रोकिनै सकेँ । कारबाही गरे पार्टीबाट निकाल्ने होलान् । जे भए पनि हामी पार्टी पुनर्गठन गर्छौं । नवीन बनाउँछौँ ।’

बैठकमा सहभागी अर्का एक नेता नेताका अनुसार ओलीबिना चल्दैन भन्ने मत पछिल्लो १३ वर्षयता पहिलोपटक घनीभूत भएको बताए ।

‘ओलीको १० वर्षभन्दा बढीको शासनकालमा यत्तिको अहिलेजस्तो चुनौती दिएर कहिल्यै पनि निर्मम बहस र समीक्षा भएको थिएन । उनकै विश्वासपात्र विष्णु पौडेल र शंकर पोखरेल पनि ओलीबाट चल्दैन पार्टी, पुनर्गठनको विकल्प छैन भनेर बैठक, कार्यक्रमदेखि सामाजिक सञ्जालसम्म भन्दै हिँड्न थाल्नुभएको छ,’ संस्थापनइतरका एक प्रभावशाली एमाले नेता भन्छन्, ‘पेप्सिकोलामा पनि आ–आफ्नो व्याख्या नउठेको होइन । दुई धारकै कुरा उठे । ओलीबाहेक संसार चल्दैन भन्ने पनि सुनियो । तर, प्रतिवाद चर्कै रूपमा भएपछि विज्ञानले त्यसो भन्दैन । राम्रो कामको जिम्मा लिँदा पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरण नियमित प्राकृतिक भएको विषय उठेको हो ।’

कार्यदलमा पौडेल र पोखरेल दुवैले विगतका गल्ती सच्याउनुपर्ने, नभए एमाले मात्रै नभई कम्युनिस्ट आन्दोलन नै धरापमा पर्ने मत राखेका छन् । बैठक एकलौटीजस्तो भएको भनेर प्रचार गरिए पनि त्यस्तो नभएको दाबी एक नेताले गरे ।

ती नेताले भने, ‘भन्नलाई अझै पनि नेतृत्वमा हाम्रो बाहुल्य छ, बैठक एकलौटी भयो भनेर प्रचार पनि गरेको देखियो । बैठक हेर्दा ओलीपक्षधर मूर्खहरूको जमघटजस्तो थियो । यो सबै बिग्रिएको ओलीको कारणले हो । अब उनी हट्दा मात्रै एमाले राम्रो हुन्छ । उनी हटे मात्रै एमालेले चार लाख भोट बढाउँछ भनेर समेत बहस भयो ।’

शनिबार ४० जना जतिले धारणा राखेका थिए । पार्टीमा प्रतिस्पर्धालाई अस्वीकार गरेकोमा असन्तुष्टले कडा प्रतिवाद गरेका थिए । ‘नेतृत्वले आकलन गर्न सकेन, परिस्थिति नै बुझेन भन्ने कुरा मुख्य रूपमा उठेको हो । जबजले प्रतिस्पर्धा स्वीकार्‍यो । तर यहाँ बन्द छ । प्रतिस्पर्धालाई निषेध गरेर हामी कसरी उन्नत बन्न सक्छौँ भनेर कडाइका साथ आवाज उठे,’ एक नेताले भने, ‘सिद्धान्त, संगठन, कार्यशैली, नेतृत्व हस्तान्तरण केही पनि कुरा उठ्न बाँकी भएन ।’ अ‍ोली खेमाबाट दाबा लामा, प्रदीप कटुवाल, सिन्धुलीका अध्यक्ष महेन्द्र श्रेष्ठसहितका नेताले नेतृत्वको बचाउमा बोलेका थिए ।

अध्यक्षले पार्टी विभाजन गर्न नेताहरू लागेको आशयमा बोलेको एक नेताले दाबी गरे ।  ‘ओलीको नेतृत्वको रक्षा हाउगुजी खडा गर्ने पहिल्यैदेखिको बानी हो । म जेल पर्न लागेको, जेल पर्न लागेको बेला यस्तो गर्ने भनेर उहाँले यसअघि पनि भन्नुभएको थियो । हिजो त गुण्डुमा आफूनिकटका नेता विष्णु पौडेल र शंकर पोखरेलको नाम लिएर लोभीपापी छन्, पार्टी फुटाउन सक्छन् भन्नुभएछ,’ ती नेताले भने, ‘दिउँसो निर्मम समीक्षा भएपछि रातिसम्म आफूनिकटका नेतालाई बोलाएर अरुले पार्टी फुटाउन खोजेको सन्देश हतारिएर दिएको देखिन्छ । तर यस्तो कुरा अब अरुले सुन्नेवाला छैनन् ।’

अध्यक्ष ओलीनिकटका नेता महेश बर्तौला अध्यक्षले त्यस्तो नभनेको दाबी गर्छन् । ‘पार्टीमा पुनर्गठन कसरी गर्ने भन्नेमा फरक भावना छन् । त्यही सन्दर्भमा सहभागी थिएँ । अध्यक्षले देशकै परिस्थिति जटिल छ, यही बेला एमाले पार्टीमाथि आक्रमण बढेको छ, यो पार्टीको एकता कायम राख्ने बेला हो भनेर बोल्नुभएको हो । सुरुदेखि अन्तिमसम्म बस्दा कोही नेता विशेषको नाम लिएर पार्टी फुटाउन खोजेका छन् भनेर बोल्नुभएको छैन,’ बर्तौलाले भने, ‘पार्टी बलियो बनाउन अघि बढनुस्, सम्हाल्नुस् भन्नुभएको हो । जटिलता र विभाजनको कुरा गर्दा साथीहरूमा निराशा आउँछ । एकताको विकल्प छैन । ५४ र ७४ सालमा एमाले विभाजन हुँदाको प्रसंग ल्याउनुभएको हो । तर, त्यसैलाई पार्टी विभाजन गर्न खोजेको भनेर प्रचार भयो ।’

तर, ओलीको पार्टी फुटाउन लागे भन्ने अभिव्यक्तिलगत्तै महासचिव शंकर पोखरेलले समेत आपत्ति जनाएका छन् । ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन । जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ,’ पोखरेलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘किनकि जनता नै इतिहासका निर्माता हुन् ।’ उनलाई साथ दिँदै उपमहासचिव योगेश भट्टराईले पनि एमालेलाई एकताबद्ध बनाउनुपर्ने लेखेका छन् । ‘नेकपा एमालेलाई थप एकताबद्ध बनाऔँ ! पार्टी पुनर्गठनको कार्यभारलाई सफल बनाऔँ !!,’ उनले सामाजिक सञ्जालमा लेखका छन् ।

२० जेठमा ओली संगठन विभागले गरेको कार्यशालालाई बबरमहलको कार्की बैंक्वेटमा उद्घाटन गरेका थिए । २१ फागुनको निर्वाचनपछि त्यो ओलीको पहिलो सार्वजनिक कार्यक्रम थियो । ओलीले त्यतिखेर पनि कसको इशारामा आफूविरुद्ध लागे भन्दै पार्टी जोगाउन अपिल गरेका थिए । आफैँनिकटका नेताको पनि उनले आलोचना गरेका थिए । ओलीको सो अभिव्यक्तिअघि र पछिसमेत उपाध्यक्ष विष्णु पौडेलसमेत नेतृत्वले जस र अपजस दुवै लिनुपर्ने बताउँदै आएका छन् ।

शंकर पोखरेलले पनि लगत्तै जवाफ फर्काउन खोजेका थिए । तर, ओलीले नेता भानुभक्त ढकालमार्फत पोखरेललाई सम्झाउन खोजेपछि केही नरम भएका थिए । त्यसपछि उनले कडा अभिव्यक्ति दिएनन् । तर, ओलीसँग पनि सम्बन्ध थप सुध्रिएन ।

पछिल्ला केही महिनायता पौडेल, पोखरेलसहितका उनका रक्षाकवज नेताहरू नै ओलीले अब नछोडी हुँदैन भनेर दबाब बढाइरहेको नेताहरू बताउँछन् । पुनर्गठन अब ओलीसहित हुँदैन, ओलीरहित हुनुपर्छ भन्ने उनीहरूको मुख्य अडान रहने नेताहरू बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x