पूर्वसांसद आलम प्रकरण : उच्च अदालतको फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ ।
महान्यायाधिवक्ता कार्यालयले वीरगञ्जस्थित उच्च अदालत जनकपुरको इजलासले गरेको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । यसअघि २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनमा जाने निर्णयमा हस्ताक्षर गरेका थिए ।
महान्यायाधिवक्ताको कार्यालयले फैसलामा गम्भीर विचलन देखिएको, प्रमाणहरूको उचित मूल्यांकन नगरी निर्णय सुनाइएको भन्ने ठहर गर्दै सो फैसलालाई चुनौती दिएको हो । सरकारको दावीअनुसार जिल्ला अदालतबाट सफाइ पाएका र उच्च अदालतबाट सफाइ पाएका सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
गत १४ जेठमा उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलगायत सबैलाई ज्यान मुद्दामा सफाइ दिने फैसला सुनाएको थियो । सो फैसलापछि सार्वजनिक रुपमा यसको आलोचना पनि भएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE