क्यानाडामा आप्रवासनसम्बन्धी थाँती रहेका आवेदनको संख्या घटाइँदै

अन्टारियो – क्यानाडाको अध्यागमन निकायमा अध्यागमनसँग सम्बन्धित विभिन्न खाले आवेदनहरुको संख्या घट्दो क्रममा रहेको छ। लामो समयदेखि थान्को लागेका आवेदनहरुको प्रक्रिया टुंग्याउँदै जाँदा संख्या घटेको जनाइएको छ।
इमिग्रेसन, रिफ्युजीज एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) मा थाँती रहेकामध्ये केही समययता उल्लेख्य संख्यामा आवेदनहरुको प्रक्रिया टुंग्याइएको छ।
२०२५ अप्रिल ३० सम्म उक्त निकायले कुल ७ लाख ६० हजार २०० वटा आवेदनहरु बाँकी रहेको जनाएको थियो।
त्यसको एक महिनाअघि त्यसरी थान्को लागेका आवेदनको संख्या ७ लाख ७९ हजार ८०० रहेको जनाइएको थियो। उक्त अवधिमा कुल आवेदनको २.५३ प्रतिशतले घटेको आइआरसीसीले जनाएको छ।
त्यसअघि आवेदनको संख्या १० लाख हाराहारी हुने गरेको थियो। यो लगातार पाचौं महिना भने थाँती रहेका आवेदनको संख्या १० लाखभन्दा कमकै अवस्थामा देखिएको जनाइएको छ।
त्यस्ता आवेदनको संख्या २०२४ नोभेम्बरमा १० लाख ६ हजार ५०० थियो। डिसेम्बरमा केही घटेर ९ लाख ४२ हजार ३०० पुगेको थियो।
यस्तै, २०२५ जनवरीमा अझ घटेर ८ लाख ९१ हजार १०० पुगेको थियो भने फेब्रुअरीमा ८ लाख २१ हजार २०० मा झरेको थियो।
आइआरसीसीका अनुसार मार्चमा उक्त संख्या ७ लाख ७९ हजार ९०० थियो। अप्रिलमा आएर ७ लाख ६० हजार २०० पुगेको थियो।
अप्रिल ३० सम्म आइआरसीसीमा दर्ता भएका कुल आवेदनको संख्या २० लाख ४१ हजार ८०० रहेकामा पछिल्लो समय तिनको प्रक्रिया टुंग्याएर घटाइँदै आएको हो।
क्यानाडा आउने, स्थायी बसोबास वा अरु कुनै प्रयोजनाका लागि दिइने आवेदन आइआरसीसीले हेर्ने गर्छ। निर्धारित मापदण्डमा भए, नभएको लगायत विभिन्न पक्ष हेरेर तिनलाई अन्तिम रुप दिइन्छ।
निर्धारित समयभित्रै आवेदनको प्रक्रिया टुंगियो भने त्यस्ता आवेदन थाँती रहँदैनन्। तर निर्धारित मापदण्डअनुसार तोकिएको समयभित्र प्रक्रिया टुंगो नलागेको अवस्थामा थाँती रहने (ब्याकलग) गरेको छ।
क्यानाडामा आउनका लागि आप्रवासनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा छन्। ‘एक्सप्रेस इन्ट्री’, ‘फेमिली स्पोन्सरसिप’ जस्ता कार्यक्रमहरुमार्फत् यहाँ आउन चाहने विश्वका धेरै देशका नागरिकहरुले आवेदन दिने गरेका छन्।
सामान्यतया एक्सप्रेस इन्ट्री अन्तर्गतका आवेदन ६ महिना र फेमिली स्पोन्सर अन्तर्गतका आवेदन १२ महिनामा टुंग्याइन्छ। कुनै कारणले यो अवधिमा टुंगिन सकेन भने थाँती (ब्याकलग) रहने गरेको छ।
आइआरसीसीले आफ्नो सेवा मापदण्डभित्र पेश गरिएको ८० प्रतिशत आवेदनहरु समयमै टुंग्याउने प्रतिबद्धता जनाउने गरेको छ। तर विभिन्न कारणले कहिलेकाहीँ ढिलाइ पनि हुने गरेको छ।
बाँकी २० प्रतिशत आवेदनहरुको प्रक्रिया टुंग्याइमा विशेष कारणले ढिलाइ हुने गरेको छ। कतिपय आवेदनको हकमा सम्बन्धित कागजात नपुगेको वा थप कागजात आवश्यक पर्ने, मूल्यांकन र निर्णयका लागि समय लाग्ने गरेको जनाइएको छ।
पछिल्लो समय थाँती रहेकोमध्ये ८ लाख ८० हजार ८०० आवेदन स्थायी बसोबास (पीआर) का रहेको जनाइएको छ। यो २०२५ अप्रिल ३० सम्मको तथ्यांक हो।
तीमध्ये ४ लाख ८९ हजार ८०० (५६ प्रतिशत) आवेदनहरु आइआरसीसीको सेवा मापदण्ड अवधिभित्रै टुंग्याइएको थियो। यस हिसाबले उक्त अवधिसम्म थाँती रहेका पीआर आवेदनको संख्या ३ लाख ९१ हजार थियो।
पीआरका आवेदनहरु अप्रिल महिनामा २८ हजार १०० वटा थपिएका थिए।
यस्तै, अस्थायी बसोबास (टीआर) का ६५ प्रतिशत आवेदनहरुको प्रक्रिया टुंगो लगाइएको आइआरसीसीले जनाएको छ। यसमा वर्क पर्मिट, स्टडी पर्मित र भिजिटर भिसाका आवेदन समेत पर्छन्।
क्यानेडियन नागरिकताका लागि परेका आवेदनको संख्या पछिल्लो समय अप्रिलसम्म २ लाख ४२ हजार ५०० रहेको जनाइएको छ।
तीमध्ये ८१ प्रतिशत आवेदनको प्रक्रिया तोकिएको सेवा मापदण्ड अवधिभित्रै पूरा गरिएको आइआरसीसीको भनाइ छ। यसका ४४ हजार ९०० आवेदन थाँती रहनेमा परेका छन्।
२०२५ मार्चको अन्तिमसम्म नागरिकताका लागि परेका आवेदनको संख्या २ लाख ३९ हजार ४०० रहेकामा ४३ हजार ६०० को प्रक्रिया टुंगो लाग्न बाँकी छ।
उक्त निकायमा परेका आवेदनहरुको ठूलो संख्या थाँती रहनेमा पर्ने गरेकामा त्यसलाई घटाउन गत वर्ष केही उपाय अपनाइएको थियो।
त्यसमध्ये अटोमेसन प्रविधि पनि थियो। त्यसको प्रयोगका साथै जनशक्ति थप गरेर समेत आवेदन प्रक्रिया छिटो छरितोगरी टुंग्याउने प्रयास थालिएको थियो। त्यही प्रयासको असरले आवेदन टुंग्याउने प्रक्रियाले अलि गति लिएको हो।
WRITE COMMENTS FOR THIS ARTICLE