सुरुवातमा ८३ अंकसम्मले बढेको नेप्से अन्त्यमा राताम्मे

काठमाडौं – राष्ट्र बैंकमा गभर्नर नियुक्ति हुने चर्चाले अघिल्लो दिन सेयर बजार ४९ अंक बढ्यो ।
नियुक्तिपछि बजारले थप गति लिने धेरै लगानीकर्ताको अनुमान थियो । सुरुवाती कारोबारमा बजारले त्यहीं संकेत देखायो । कारोबार सुरु भएको ३ मिनेटमै बजार अघिल्लो दिनको तुलनामा ९४ अंकसम्म बढ्यो ।
नेप्से पहिलो सर्किट लेभल ४ प्रतिशत नजिकै पुग्दा बिक्री चाप बढ्यो र सर्किट ब्रेक लाग्न पाएन । ३ मिनेटमै २७७१ अंकसम्म पुगेको बजार बन्द हुँदा भने २६६९ अंकमा झर्यो अर्थात् सुरुवाती कारोबारको अंकभन्दा अन्त्यमा १०२ अंकले बजार झर्यो ।
यद्यपि अघिल्लो दिनको तुलनामा भने आज ७.९४ अंकले बजार घट्यो । बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज १० अर्ब ६९ करोडको भयो ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिन्धु विकास बैंकको ५.११, सप्तकोशी विकास बैंकको ४.७४, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२५ तथा एनएलजी इन्स्योरेन्सको ४.१२ प्रतिशत मूल्य बढ्यो ।
स्वेतगंगा हाइड्रोपावरको ८.३२, मातृभूमि लघुवित्तको ६.२, बोटलर्स नेपाल बालाजुको ५.८८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, माउन्टेन इनर्जी, ङादी ग्रुप, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE