नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य शुरु

काठमाडौं : नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न गृहकार्य शुरु भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबारको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ।
जिम्मेवार निकायहरू, क्रियाकलाप र क्रियाकलाप सम्पन्न गर्ने समयसीमासहित कार्य योजना कार्यान्वयन गरिने भएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कार्य योजनाअनुसार काम गर्दै गर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानूनको कमी नभएको बताए। इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने उनको धारणा छ।
महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए।
मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए। प्रविधिलाई जोड दिएर कार्य योजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने उनले बताए।
राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्य योजनाअनुसार शुरुदेखि नै काम गर्न आवश्यक भएको बताए।
बैठकमा सहभागीहरूले जोखिम मूल्यांकन, अन्तर निकाय समन्वय, नियमन तथा सुरपरीवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्तिलगायत क्षेत्रमा काम गर्न जरुरी रहेको औंल्याए। र, कानूनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक रहेको उल्लेख गरे।
नेपाल गत ९ फागुनमा फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको थियो।
WRITE COMMENTS FOR THIS ARTICLE