आज बुटवलमा रा.प्र.पा.काे शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लुम्बिनीले आज बुटवलमा प्रदेशस्तरीय आमसभाको तयारी गरेको छ । ट्राफिक चोकमा हुने उक्त कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गरेको हो ।
लुम्बिनीमा राप्रपाका उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सल्लाहकार समिति संयोजक निरन्जन थापा, सचिव प्रदीप उदयसहितका नेताहरूको गृह प्रदेश हो ।
लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका प्रदीप उदयले सातै प्रदेशमा यस्तो जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने बताएका छन् ।
उनका अनुसार यो सरकारविरूद्वको खबरदारी हो । सभाभन्दा अगाडि विभिन्न क्षेत्रबाट मोटरसाइकल र्याली निकालिने उनले बताए । ‘देशमा बढेका विकृति र विसंगतिविरूद्वको अभियान राप्रपाले सुरू गरेको हो’ उनले भने, ‘यसलाई जनजागरणका रूपमा लिएका हौं । मुलुकले निकास खोजेको छ, सबै अट्ने नयाँ समझदारी गरेर अगाडि जानुपर्छ । राष्ट्रियता संकटमा परेकोले सबै जाग्न जरुरत छ ।’
यस्तै, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष तथा पूर्वमन्त्री निरन्जन थापाले देशमा अहिलेको अवस्थाले धेरैलाई चिन्ता थपेकोले पार्टीले यस्तो अभियान थालेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहबाट सम्बोधनका क्रममा मेलमिलापको स्पष्ट कुरा आएको बताउँदै भने, ‘राजाले प्रष्ट कुरा बाहिर ल्याएको समयमा केही गलत व्याख्या भएको छ । राजासहितको व्यवस्था देशमा जरुरत रहेको छ ।’
WRITE COMMENTS FOR THIS ARTICLE