बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

ऋषिङ गाउँपालिकाकाे कौरा नाच संरक्षण अभियान

तनहुँ, – तनहुँको ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्ने अभियान थालेकाे छ । पालिकाले गाउँपालिकाले प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्ने, डकुमेन्ट्री बनाउने र होमस्टेका सञ्चालकलाई प्रशिक्षण प्रदान गरेर संरक्षण गरिरहेको छ ।

कौरा नृत्य ऋषिङ गाउँपालिकाबाटै सुरु भएकोले यसको संरक्षण सम्वर्द्धनकाे लागि प्रत्येक वर्ष कौरा नृत्य प्रतियोगिता गर्दै आइरहेको नयाँ पुस्तालाई जानकारी र संरक्षणमा टेवा पुर्‍याउन डकुमेन्ट्री निर्माण गरिसकिएको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठको नाचको जर्गेना गाउँपालिकाको प्रमुख प्रशासकीय कार्यालय रहेको पोखरीभञ्ज्याङमा यही माघ २० गते खुल्ला कौराह प्रतियोगिता गर्ने निर्णय गरिएको छ ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘ऋषिङबाट उत्पत्ति भएको कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले गाउँपालिकाले खुला प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ७० हजार, ४५ हजार, २५ हजार र १० हजार रुपियाँ  र प्रमाणपत्र दिइने उहाँले जानकारी दिनुभयो ।

पालिकको कार्यक्रम हुँदा आफूहरुले कौरा नाच देखाएर अतिथिलगायत सहभागीलाई मनोरञ्जन दिने गरिएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठले भन्नुभयो “गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौरा नाचबाटै गरिन्छ ।’’ विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नाच अहिले मुलुकका विभिन्न क्षेत्रको अलावा विदेशमा लोकप्रिय बनेको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ।

कौरा नाच ऋषिङ गाउँपालिकाबाट उत्पती भएको ऋषिङबाट बसाई सर्दै देशका विभिन्न स्थान तथा बिदेशमा जानेले समेत यो नाचलाई विस्तार गरेको कौरा नाचको अध्ययन तथा अनुसन्धान गर्नु भएका व्यास नगरपालिका–१३ बेलबास निवासी यमबहादुर आले बताउनुहुन्छ ।

पछिल्लो समय गाउँपालिकाले स्थानीयवासीको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दरैले बताउनुभयो । कौरा नाचको सुरु नै मगर समुदायको बाहुल्यता रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेका उहाँको भनाइ छ ।

कौरा नाचबारे किंवदन्ती

ऋषिङ गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौरा नाच’ हुन पुगेको अध्ययन कर्ता आले बताउनुहुन्छ ।

पहिले चाडपर्वका बेला जिम्वाल, वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकोमा पुगेपछि ‘कानराह’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराह पछि अपभ्रम्स हुँदै कौरा भएको भनाइ पनि छ । त्यसैगरी अर्को भनाइअनुसार कुरकुरे बैंसका मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौरा’ हुन पुगेको किवदन्ती छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x