बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन, यस्तो थियो उनकाे चुनौती

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको आइतबार जर्जियाको प्लेन्स शहरमा १०० वर्षको उमेरमा निधन भयो । सन् २०१५ मा उनी स्वयम्ले आफूलाई छालाको क्यान्सर भएको र उपचार भइरहेको बताएका थिए । उनको निधनमा सोही रोग कारक बनेको बताइएको छ ।

कार्टरले संसारभर लोकतन्त्र र मानव अधिकारको वकालत गर्दै कार्टर सेन्टरको स्थापना गरेका थिए । सोही सेन्टरले उनको निधन जर्जियास्थित आफ्नै घरमा भएको पुष्टि गरेको छ ।

गत अक्टोबरमा मात्रै उनले आफ्नो १००औँ जन्मदिन मनाएका थिए ।

एक सामान्य किसानदेखि नौसेना अफिसरहुँदै अमेरिकाको राष्ट्रपतिसम्म जिमी कार्टरको संघर्ष यात्रा प्रेरणादायक छ । किसान बुबाको मृत्युपछि जागिर छोडेर बुबाको पेसालाई अघि बढाउने क्रममा पहिलो वर्ष नै उनले भारी चुनौती झेल्नुपरेको थियो । तर, उनले हिम्मत हारेनन् । खेतीमा सफल भएपछि उनी सामाजिक काम गर्दै राजनीतिमा सक्रिय रहे । राजनीतिमा पनि उनले हार र जित, लोकप्रियता र अलोकप्रियता दुवैको स्वाद चाखे ।

पोहोर श्रीमतीको निधन

उनी सबैभन्दा लामो आयु जिउने अमेरिकी पूर्वराष्ट्रपति थिए । उनकी श्रीमती एलेनोर रोसालिन स्मिथको गत वर्ष नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । रोसालिनाई श्रद्धाञ्जलि दिँदै कार्टरले लेखेका थिए, ‘मैले जीवनमा जेजति हासिल गरेँ, त्यसमा उनी बराबर साझेदार हुन् ।’

को थिए जिमी कार्टर ? 

१ अक्टुबर १९२४ मा जर्जियाको सानो शहर प्लेन्समा जन्मेका जिमी कार्टर बुबाआमाका चार सन्तानमध्ये जेठा थिए । उनका दुई बहिनी र एक भाइ छन् । जिम्मीको पूरा नाम जेम्स अर्ल कार्टर जुनियर हो । जर्जियाको प्लेन्स नामक शहरमा रहेको भाइस क्लिनिक हस्पिटलमा उनको जन्म भएको थियो । त्यो हस्पिटलमा उनकी आमा नर्स थिइन् । उनका बुबा अर्ल कार्टरचाहिँ बदाम खेती गर्थे ।

कार्टरले सन् १९४१ मा प्लेन्स हाई स्कुलबाट १० कक्षाको पढाई पूरा गरेका थिए । स्कुलमा उनी बास्केटबलको उत्कृष्ट खेलाडी थिए । उनले सन् १९४१ मा जर्जिया साउथ वेस्टर्न कलेजमा उच्च शिक्षाको पढाइ सुरु गरे । तर, सन् १९४२ मा उनले उक्त कलेज छोडेर जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना लिए । सन् १९४३ मा उनले म्यारील्याण्डमा रहेको यूएस नेभल एकेडमीमा भर्ना पाए र सन् १९४६ मा त्यहाँबाट पास भएर निस्किए ।

यसपछि जिमी कार्टरले अमेरिकी नौसेनामा काम गर्न थाले । उनले ७ जुलाई १९४७ मा आफ्नी बहिनीकी साथी एलेनोर रोसालिन स्मिथसँग विवाह गरे । सोही वर्ष उनका छोरा जोन विलियम जन्मिए । सन् १९५० मा जेम्स अर्ल, १९५२ मा डोनल जेफ्फ्री र १९६७ मा छोरी एमी लिनको जन्म भयो ।

सन् १९५३ मा बुबाको मृत्यु भएपछि जिमी सात वर्षदेखि गरिरहेको जागिर छोडेर घर फर्किए । र, बुबाले गरिरहेको बदाम खेतीलाई निरन्तरता दिए ।

खेतीमा उनको पहिलो वर्ष निकै खराब रह्यो । त्यो वर्ष सुख्खायामले खेतीपाती बर्बाद भयो । तर कार्टरले हिम्मत हारेनन् र किसानीलाई सफल बिजनेस बनाएरै छाडे । खेती गर्दागर्दै उनले राजनीतिमा पाइला राखेका थिए । सुरुमा उनले स्थानीय चुनाव जिते । जर्जियाबाट सिनेट चुनाव लड्नुअघि उनले पुस्तकालय बोर्डको चुनाव जितेका थिए ।

उनलाई सन् १९६२ मा जर्जिया सिनेटमा चुनियो । १९६६ मा जर्जियाको गभर्नर पदका लागि उनी चुनाव लडे पनि हारे । त्यसको ४ वर्षपछि सन् १९७० मा उनी जर्जियाको गभर्नर पदका लागि चुनावमा उठेर जिते । दुईपल्ट सिनेट चुनिएपछि उनी गभर्नर बनेका थिए । यसपछि उनले नागरिक अधिकारका लागि काम गरे ।

अनि राष्ट्रपति बने

जिम्मी कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औँ राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपति बनेपछि पहिलो घोषणामै उनले भियतनाम युद्धमा जान नमानेका अमेरिकी युवालाई माफी दिएका थिए । उनको यो निर्णयलाई उनका कटु आलोचक बेरी कोल्डवाटरले लज्जास्पद भएको बताएका थिए ।

राष्ट्रपति भएपछि गरेको पहिलो भाषणमा उनले नस्लीय भेदभावको अन्त्य भएको घोषणा गरेका थिए । उनले भनेका थिए, ‘म तपाईंहरूलाई प्रस्ट भन्दै छु, नस्लीय भेदभावको युग अब समाप्त भएको छ ।’

अफ्रिकी मूलका अमेरिकीलाई सरकारी कार्यालयमा नियुक्ति दिने सन्देशका लागि उनले अमेरिकी संसदको भित्तामा मार्टिन लुथर किङको तस्वीर टाँगेका थिए ।

तर, उनले ईसाई धर्म र उदारवादबीच सन्तुलन बनाउन भने सकेनन् । गर्भपात कानुनको विषय आउँदा उनले गर्भपातको समर्थन गरे पनि यसका लागि पर्याप्त बजेट दिएनन् ।

महिलाहरूको रोजगारीको सन्दर्भमा उनले केही काम गरे । कार्टरले विभिन्न महत्त्वपूर्ण पदमा महिलालाई नियुक्त गरेका थिए ।

उनी पहिलो अमेरिकी नेता थिए, जसले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिए । कार्टरले व्हाइट हाउसमा जिन्स र स्विटर लगाउन र गर्मी बढाउने बिजुली उपकरणको बन्द गराउन निर्देशन दिए । उनले कार्यालयको छतमा सोलार प्यानल लगाउन लगाए । उनीपछि आएका राष्ट्रपति रोनाल्ड रेगनले ती प्यानल हटाए ।

अन्तर्राष्ट्रिय स्तरमा उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । तर, इरानमा बन्धक अमेरिकी नागरिक र अफगानिस्तानमा सोभियत संघको आक्रमणजस्ता घटनामा उनले ठूलै चुनौतीको सामना गर्नुपरेको थियो ।

उनले सन् १९७९ मा चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने घोषणा गरेका थिए । यसो गर्दा अमेरिकाले ताइवानबाट आफ्नो सम्बन्ध तोड्दै ताइपेको दूतावास बन्द गर्नु परेको थियो ।

अमेरिकी अर्थव्यवस्थामा मन्दी आएपछि कार्टरको लोकप्रियता घट्न थालेको थियो । उनले ऊर्जा संकटबाट देशलाई निकाल्न भन्दै कडा कदम उठाए, जसमा पेट्रोल–डिजेलको नियन्त्रण पनि थियो । तर, संसदमा यसको ठूलै विरोध भयो ।

युनिभर्सल हेल्थकेयर सिस्टम पनि संसदबाट पारित हुन सकेन र बेरोजगारी र ब्याज दरमा आएको उछालले कार्टरको चुनौती बढाइदियो ।

उनले बन्धक संकटका क्रममा इरानसँग कूटनीतिक सम्बन्ध तोडिदिएका थिए । उनको कार्यकालमा अमेरिकाले इरानमाथि कैयौँ प्रतिबन्ध लगाएको थियो ।

आफ्नो राष्ट्रपति कार्यकाल सकेर उनी फेरि चुनाव लडे । सन् १९८० मा भएको त्यो चुनावमा रोनाल्ड रेगनसँग उनले नमिठोसँग हारेका थिए । उनले ६ राज्यमा मात्र जित्न सके ।

आफ्नो कार्यकालको अन्तिम दिन उनले इरानसँगको बन्धक संकट समाप्त भएको घोषणा गरेका थिए । तर, बन्धक बनाइएका नागरिक राष्ट्रपति रेगनको शपथ समारोहपछि मात्रै इरानबाट अमेरिका आएका थिए ।

पद छोड्दासम्म उनको लोकप्रियतामा निकै कमी आइसकेको थियो । तर, पछिका कामले उनले आफ्नो साख बढाउँदै लगे ।

मानव अधिकार र लोकतन्त्र रक्षाका अभियन्ताका रूपमा उनले सन् १९८७ मा इजिप्ट र इजरायलबीच सम्झौता गराउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनको यो कामलाई संसारले तारिफ गरेको थियो । उनले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउने काममा पनि योगदान गरेका छन् ।

रिटायर भएपछि कार्टरले एक सामान्य जीवनशैली अपनाए । राष्ट्रपतिकालदेखि उनी भन्थे, ‘मलाई पैसा कमाउनु छैन ।’ वासिंगटन पोस्टका अनुसार उनको घरको मूल्य १ लाख ६७ हजार डलर थियो । (एजेन्सीहरूवाट)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x