ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल गिरफ्तार

काठमाडौं — ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए। उनका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो।
अहिले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा भ्रमणमा छन्। यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो।
भारतीय सेनाध्यक्ष द्विवेदी नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिन नेपाल आएका हुन् ।
यस विषयमा प्रश्न उठाउँदै नेपालले चिनियाँ सेना प्रमुखलाई पनि नेपालको मानार्थ महारथीको दर्जा दिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेका थिए ।
उनी ग्रेटर नेपाल अभियान सञ्चालन गर्दै सुगौली सन्धी पूर्वको नेपाली भूमि (पूर्वमा टिस्टादेखि पश्चिममा सतलज) सबै नेपालकै हुनुपर्ने आवाज उठाउँदै आएका छन् ।
भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन्। त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन्।
केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुअगाडि उनलाई प्रहरीले निवासबाहिरबाटै पक्राउ गरेको थियो।
नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार बर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान सञ्चालान गर्दै आएका छन्।
WRITE COMMENTS FOR THIS ARTICLE