आफू र आफ्नो परिवारविरुद्ध बदनाम गराउन षड्यन्त्र भयाे–सभापति ऋषिकेश पोखरेल
काठमाडौं, – नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सहकारी ठगी प्रकरणमा आफू र आफ्नो परिवारलाई बदनाम गराउन खोजिएको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुमाथि प्रतिशोध साँधिएको बताएका हुन् । नेता पोखरेलकी श्रीमती अञ्जला कोइराला उमागौरी कृषि सहकारी ठगीमा मुछिएकी छन् । उनीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अञ्जलालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अञ्जलाविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । उनले भ्रष्टहरुले आफ्नो अपराध लुकाउन आफू र आफ्नो परिवारमाथि हिलो छ्यापेको दाबी गरेका छन् ।
नेता पोखरेलले भ्रष्टहरुको विरोध गर्दा, बेइमानहरुविरुद्ध काम गर्दा र देशको हितमा काम आफूविरुद्ध षड्यन्त्र भएको बताए । तस्कर र भ्रष्टहरुको संगठित शक्तिले मुलुक बनाउनुपर्छ भन्नेमाथि आक्रमण गरेको उनको दाबी छ । ‘प्रचार त जेसुकै गरेपनि भइगयो नि । राजनीतिक प्रतिशोधका आधारमा जेसुकै भनेपनि भइगयो नि । यो देशमा भन्न पाइएकै छ ।’ उनले भने, ‘आफ्नो अपराध लुकाउनका निम्ति अरुमाथि हिलो छ्याप्ने, काँक्रो चोरले मेरो आँगनमा बियाँ फालेर अनि चोरीको नसिहत मैले भोग्नुपर्ने ? मेरो श्रीमतीले सहकारीको पैसा ल्याएको कसले देख्यो, के प्रमाणले देखियो ? यो विषयमा धेरै पल्ट कुराकानी गरिसकेको छु । एउटै विषयमा धेरै कुरा गर्नुपनि उपयुक्त हुँदैन । यो देशको नियम, कानुन हामी मान्छौं । हामी एमाले हौं, देशको नियम, कानुन, संविधानमाथि विश्वास छ । त्यतिन्जेलसम्म फर्खिनुस् न ।’
WRITE COMMENTS FOR THIS ARTICLE