बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

जाडो मौसममा रगतहरुको नशाहरु बढ्ने र नशाहरु ब्लक हुने सम्भावना हुन्छ

काठमाडौँ । जाडो मौसममा शरीरका नशाहरु र रगतका नलीहरु खुम्चिने गर्छन् । जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ । ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ । रगतहरुको नशाहरु बढ्ने र नशाहरु ब्लक हुने सम्भावना हुन्छ ।

उच्च रक्तचाप बढेर मुटुलाई भार परेका कारण ब्लडको नशाहरु स्टिक भएर ब्लक हुने सम्भावना हुन्छ । जसका कारण जाडो मौसममा हृदयघात हुने गर्दछ ।

मुटुको समस्या जोकोहीलाई हुनेगर्छ । उमेर पुगेका व्यक्तिहरुलाई बढी समस्या देखिन्छ । मुटुमा समस्या देखिनुको पनि विभिन्न रिक्स फ्याक्टरहरु हुन्छन् । जस्तै मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोलको लेबल हुनु रिक्स फ्याक्टरका हुन् । यसो हुँदा रगतका नशाहरुमा कोलेस्ट्रोलको लेदोहरु जम्ने खतरा रहन्छ । यस्तो समस्या आउँदा प्यारालाइसिस हुने र मुटुको रगतहरु बन्द भएर ह्दयघात हुने गर्दछ ।

अहिले नेपालमा योङ्गर मान्छेहरुमा पनि यस्ता समस्याहरु देखिन थालेका छन् । अधिक धुम्रपान वा मध्यपान गर्ने युवाहरु यसको शिकार भइरहेका छन् । अस्वस्थ खानपान, अस्तव्यस्त जीवनशैलीका कारणले गर्दा मुटुमा समस्या बढ्दो छ । नियमित व्यायाम नगर्ने, जंगफूड बढी खाने बानीले युवा अवस्थामा पनि ह्दयघात हुनसक्छ । तर कुनैकुनै बच्चामा जन्मजातै मुटुमा समस्या देखिने गरेको पाइन्छ । साथसाथै बाथका कारण मुटुरोग बच्चादेखि १५ वर्ष उमेर समूह र पछिसम्मै देखापर्ने गर्छ । संसारभरको सबैभन्दा बढी हुने रोग भनेको मुटुको धमनीसँग सम्बन्धित रोग हो । यो युवा अवस्थामा बढी देखा परिरहेको छ ।

हृदयघातको कुरा गर्दा महिलाभन्दा पुरुषलाई बढी हुने गरेको तथ्यांक नै छ । महिलाभन्दा पुरुषमा रिक्स बढी हुन्छ । परिवारमा कसैलाई ह्दयघात भएको छ भने त्यो वंशाणुगत गुणसमेत हुने गर्दछ । साथसाथै महिलाहरुमा हेर्दाखेरी जुन पोष्ट मिन्सुरेसन हुन्छ त्यो उमेर पुगेसँगै उत्तिकै रिक्स ल्याउँछ । उमेरको समय हेर्दाखेरी जुन हृदयघातहरु महिलाभन्दा पुरुषमा बढी हुने गरेको तथ्यांकहरुले देखाउँछ ।

जाडो महिनामा कसैको मुटुको नशाहरु ब्लक छ र कसैलाई ब्लडप्रेसर छ भने समस्या आउँछ । हृदयघात बढाउने गर्छ । चिसोले ब्लड प्रेसर बढाउने, नशाहरु ब्लक गर्ने र बढाउने कारणले जोखिम बढी हुन्छ । जाडो महिनामा कोल्डटेम्प्रेचरले शरीरमा जुन प्रवाहहरु गर्छ त्यो कम गर्नुपर्दछ ।

मर्निङवाकमा सचेत
मर्निङवाक गर्दा बाहिर आउटअफ गर्दाखेरी चिसोले धेरै समाउँछ । चिसोले समातेको खण्डमा दुई तीनवटा कुराहरु हुन्छन् । चिसो हावा सिंधै प्रवेश गर्दा फोक्सोको हावाको नलीहरु बन्द भएर घाँटी दुखाइ बढ्न सक्छ । साथसाथै चिसोले गर्दा मुटुको धमनीहरु र रगतका नशाहरु खुम्चिने गर्छन् ।

नशाहरु खुम्चिएकै कारणले ब्लडप्रेसर बढ्छ । ब्लडप्रेसर बढ्दा अगाडिबाटै मुटुका रोगीहरु छन् भने उनीहरुलाई अझै धेरै समस्या बनाउँछ । जाडोका कारण विभिन्न हर्मनहरु निस्किएर मुटुलाई भारपर्ने हुन्छ । बाहिर जाँदा सकेसम्म मुटुरोगीका बिरामीहरुले जाडो मौसममा मर्निङवाकहरु कम गर्नुपर्छ ।

जोगिने उपाय
मुटुरोगबाट बच्नको लागि परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने दुईवटा कारणहरु छन् । परिवर्तन गर्न सकिने कुराहरु धेरै छन् । परिवर्तन गर्न नसकिने वंशाणुगत गुण हो । त्यसलाई परिवर्तन गर्न सक्दैनौं । तर मुटुरोगबाट बच्नको लागि परिवर्तन तत्वहरु उच्च रक्तचाप, मधुमेह, डाइबिटिज, उच्च कोलेस्ट्रोलको लेबल ,स्वस्थ जीवन, अस्वस्थ्य खानपान, मेन्टल स्ट्रेस वा तनावहरु जस्ता समस्याहरुलाई कन्ट्रोल गर्नुपर्छ ।

युवा अवस्थामा मुटु सम्बन्धी समस्या देखिनुको कारण भनेको धुम्रपान र मध्यपानले गर्दा हो । धुम्रपान र मध्यपाका कारण युवा अवस्थामा हृदयघात भइरहेको हुन्छ । त्यसकारण जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । दैनिक व्यायम गर्नुपर्छ । खानपानमा चिल्लो पदार्थ कम गर्नुपर्छ । ठिक्क मात्रामा नुनको प्रयोग गर्नुपर्छ । सकेसम्म हरियो सागपातलाई बढाउन सकेमात्र मुटुरोगलाई रोक्न सकिन्छ ।

हृदयघातको संकेत
हृदयघातको संकेत विभिन्न हुनसक्छन् । स्वाँस्वाँ बढी हुनु, खुट्टाहरु सुनिनु, अग्लो सिरानी राखेर सुत्नुपर्ने बाध्यता, उकालो हिँड्दा सास बढ्नु, तत्कालै बेहोस हुने समस्या देखिनु, छातीमा दुखाइ बढी हुनु हृदयघातका प्रारम्भिक संकेतहरु हुन् ।

यस्तो खालको समस्या छ भने तत्कालै समाधान खोज्नुपर्छ । सकेसम्म डाक्टरको परामर्श लिनुपर्छ । जुन व्यक्तिमा बढी खतरा वा यस्ता संकेतहरु देखिन्छन । जाँच गरिहाल्नुपर्छ । उमेर पुगेका, सुगर, प्रेसर, कोलेस्ट्रोल भएका बिरामीहरुले तत्कालै डाक्टरको परामर्श लिएको राम्रो हुन्छ । सुगर, प्रेसर, कोलेस्ट्रोललाई नियन्त्रण गर्नेतर्फ र धुम्रपान छाड्न सक्नुपर्छ । खानपानमा ध्यान दिनुपर्छ ।

खानपानमा ध्यान
मुटुको समस्याबाट बच्नका लागि खानपान नै मुख्य कुरा हो । स्वस्थ्यकर खानेकुरा बढी मात्रामा सेवन गर्नुपर्छ । बदाम, एभोकाडो जस्ता खानेकुरामा धेरै किसिमका तत्वहरु हुने भएकाले प्रेसर कम गर्न सहयोग पुगाउँछ । स्वस्थ खानेकुरा भनेको हामीलाई चाहिने जति खाने हो, किनभने हामीले धेरै क्यालोरी खाने भन्छौँ । तर त्यसोमात्र होइन । धेरै चिनी र नुन भएको खानेकुरा सेवनमा कम गर्नुपर्छ । हाम्रो शरीरमा भात धेरै हुन्छ तर सागसब्जी कम हुन्छ ।

त्यसकारण धेरै सागहरु खाने र कम भात खाने गर्नुपर्छ । यसका साथै धेरै चिल्लो कुरा नखाने, धेरै बोसो भएको खाने कुरा नखाने गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ट्रान्सफ्याट जिरो हुनुपर्छ । चामल कम गर्ने, सागसब्जीको मात्रा बढाउने गर्दा राम्रो हुन्छ ।

चिसो मौसममा निमोनिया हुने कुरा भन्दा पनि मौसम परिवर्तन हुनेबेला धेरै भाइरसहरु आउने गर्छ । त्यस्तोबेला भाइरल निमोनिया बढ्ने गर्छ । चिसो मौसममा बढी गरेर दीर्घकालीन रोग भएका बिरामीहलाई इन्फेक्सनको मात्रा बढ्छ । यस्तोबेला बिरामीहरुले न्यानो भएर बस्नुपर्छ । बाहिरको काम कम गर्ने यसको साथै भाइरसहरुबाट बच्न भ्याक्सिनेशन गर्नुपर्छ । यसले गर्दा जाडोमा निमोनियाबाट बच्न सजिलो हुन्छ ।

नेपालमै उपचार सम्भव छ
नेपालमा धेरैजसो मुटु रोगको उपचार हुन्छ । जस्तै मुटुको इसीजी, इको, विभिन्न खालको टेस्टहरु सबै कुरा हुन्छन् । साथै मुटुको नसा ब्लक भएको छ कि हेर्ने, मुटुको नसा खोल्ने प्रविधि पनि छ । ओपन हार्टसर्जरी पनि हुन्छ र जन्मजात मुटुको प्वाँलहरु टाल्नको लागि आवश्यक डिभाइसहरु पनि उपलब्ध छन् । मुटुको भल्भहरु बिग्रियो फेर्नुपर्ने भयो, जन्मजात नै मुटुको अपरेशन गर्नुपर्ने भयो भने यो सबै काम नेपालमा सम्भव छ । नेपालमा अहिलेसम्म नभएको भनेको हार्ट ट्रान्सप्लान्टेशन हो । यो नेपालमा भएको छैन । लगभग नेपालमा अरु कुरा र नयाँ आएको प्रवृत्तिको एक दुईवटा मात्र नेपालमा आएको छैन । त्यो बाहेक अरु सबै उपचार नेपालमा सम्भव छ ।

मुटुको क्षेत्रमा सरकारले गरेको भनेको विपन्नका लागि एक लाख रुपैयाँ हो । मुटुको भल्भ फेर्ने, एन्जियोप्लास्टी गर्ने, मुटुमा ब्याट्री हाल्ने, सबै समस्याहरुका लागि सरकारले एक लाख रुपैयाँको सुविधा दिएको छ । आफ्नो सिफारिस दिएमा एक लाखको सुविधा आउँछ जुन राम्रो काम हो ।

१५ वर्षमुनिका बच्चाहरुको उपचारका लागि जुन स्किमहरु छन् त्यसबाट बच्चाहरुको सम्पूर्ण उपचार नेपालका अस्पतालमा हुनेगर्छ । जस्तै गंगालाल, मनमोहन जस्ता अस्पतालमा निशुल्क उपचार हुन्छ । भल्भ प्रोग्रामहरुबाट भल्भ बिग्रिएको उपचार पनि निःशुल्क रुपमा भइरहेको छ । यसको लागि विपन्नबाट एक लाख, बिमाबाट एक लाख सहुलियतमा उपचार भइरहेको छ । तर सबै ठाउँमा लागू भएको छैन । केन्द्रमा भन्दा पनि दुरदराजमा यसको पहुँच हुने हो भने राम्रो हुन्छ ।

सरकारले अहिले क्याथल्याबको व्यवस्थाहरु विभिन्न सेन्टरमा गरिरहेको छ । क्याथल्याबको व्यवस्था सम्पूर्ण ठाउँमा पु¥याउनुपर्छ । यस्तै जिल्ला अस्पतालमा पनि मुटु रोगको उपचार कसरी दिने भनेर तालिमहरु भइरहेका छन् । हृदयघात हुने बित्तिकै बिरामी क्याथल्याबमा पुग्दैनन् । कतिपय ठाँउमा आउँदा आउँदै समय लाग्छ ।

हृदयघात भयो भने मुटु बचाउनका लागि तत्काल नै नसाहरुलाई खोल्ने औषधिहरु बजारमा पाइन्छ । जसलाई हामी थ्रोम्बोलाइटिक थेरापी पनि भन्छौँ । हृदयाघात रोगको उपचारमा थ्रोम्बोलाइटिक (टिएनके) थेरापी जिल्लाहरुतिर पनि उपलब्ध गराउनसक्नुपर्छ ।

मुटुको समस्याहरुबारे जनचेतना फैलाउन सरकारले सकेको छैन । विद्यालय र समुूदायस्तरमा चेतनामुलक कार्यक्रमहरु लैजानुपर्छ । मुटु रोग अझै खर्चिलो भएको कारणले यस्तो हृदयघातको उपचारको कुरामा खर्च सरकारबाट सहायता भए कसैले उपचारबाट बन्चित हुनु पर्ने थिएन । विशेषगरी धुम्रपान मध्यपानको सेवनले मुटु सम्बन्धी रोग लाग्छ । त्यसैले यसको ट्याक्समा लाग्ने पैसा मुटु रोगको उपचार खर्चमा लगाइदिँदा राम्रो हुन्छ ।

[डा. कुञ्जन शेर्पा, मुटुरोग विशेषज्ञ तथा डिएम कार्डिलोजिष्ट, वीर अस्पताल]

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x