शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा थप बलियो बनाउन सरकार प्रयत्नशील छ–रक्षामन्त्री राई

काठमाडौँ, – रक्षामन्त्री मानवीर राईले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा थप बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

सरकार गठनको एक सय औँ दिन पूरा गरेको अवसरमा रक्षा मन्त्रालयमा आयोजित प्रमुख उपलब्धि सार्वजनिक गर्दै मन्त्री राईले मुलुक र माटोको रक्षार्थ मन्त्रालयले तत्काल र दीर्घकालीन योजनाका साथ काम गरिरहेको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षा जस्ता महत्वपूर्ण सवालमा सरकारले  नीतिगत र संरचनागत सुधारका काम अघि बढाएको छ ।”

उहाँले राष्ट्रिय सुरक्षा परिषद्मार्फत एकीकृत राष्ट्रिय सुरक्षा इन्टेलिजेन्स संयन्त्र, राष्ट्रिय सुरक्षामा वातावरणीय विनाशको असर र दिगो विकासका उपायबारे विस्तृत अध्ययन सुरु भइरहेको बताउनुभयो ।

मन्त्रालयले राष्ट्रिय सुरक्षा नीति, २०७५ को कार्यान्वयन गर्न सेनालाई जिम्मेवारी तोकी अन्तरनिकाय समन्वय सुरु गरेको जनाएको छ । संयुक्त राष्‍ट्रसङ्‍घको डिपार्टमेन्ट अफ पिस अपरेसनमा सहायक महासचिव तहको  सैनिक सल्लाहकार पदमा उपरथी प्रेमध्वज अधिकारीलाई प्रतिस्पर्धाका लागि खटाइएको छ ।

काठमाडौँ–तराई/मधेश राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनार्थ र काठमाडौँ–तराई द्रुतमार्ग निर्माणको काम तीव्र रूपमा अघि बढाइएको  मन्त्रालयले जनाएको छ ।

खोकना बुङमती क्षेत्रमा आवश्यक भई अधिग्रहण गरिएको जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने सरकारको निर्णयसँगै द्रुतमार्गमा रोकिएका काम अब अघि बढने निश्चित भएको छ । द्रुतमार्गको सुरु विन्दु निर्धारण तथा सवारी आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गत रिसर्च एन्ड ट्रेनिङ युनिटबाट अध्ययन सुरु भएको छ ।

बङ्करदेखि ब्यारेक कार्यक्रम, राष्ट्रिय प्रतिरक्षा विश्‍वविद्यालयका भौतिक संरचना निर्माणको कामलाई मन्त्रालयले तीव्रता दिएको जनाएको छ । असोज ११ र १२ गते  बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा नेपाली सेना तत्काल परिचालन भई एक हजार ३५ जनालाई सेनाद्वारा सकुशल हवाई उद्धार  गरिएको थियो । सेनाले सिन्धुलीको खुर्कोटस्थित बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज जडान गरी अवरुद्ध सवारी आवागमन सुचारु गरी अन्य ४७ स्थानमा पहिरो पन्छाउने तथा सात स्थानमा तटबन्ध निर्माण गर्ने कार्य सम्पन्न गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्‍वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ  देशका ११ वटा शान्ति मिसनमा नेपाली सेनाबाट ६५१ जना महिला सैनिकसहित विभिन्न दर्जाका गरी कुल पाँच हजार ९१८ सैनिक जनशक्तिसहित हाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यमा फौज खटाउने मुलुकमा नेपाल पहिलो स्थानमा छ । यसै गरी सबैभन्दा बढी महिला शान्ति सैनिक खटाउने मुलुकका रूपमा समेत नेपाल पहिलो स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x