त्रिपुरेश्वर आगलागी घटना :दुर्घटनाबाट फरार चालक दोङले आफैले आगो लगाए
काठमाडौं – त्रिपुरेश्वरमा सोमबार बसमा आगो लगाएर भित्रै बसेका चालकको उपचारकै क्रममा मृत्यु भएको छ । सोमबार बेलुका नै उनको मृत्यु भएको हो । फरक फरक लाइसेन्स प्रयोग गर्ने गरेका उनको पूरा विवरण पत्ता लगाउन प्रहरीलाई हैरान भएको थियो ।
यसअघि उनको साथमा दावा लामा नामका कागजात फेला परेको आधारमा प्रहरीले सोही जानकारी गराएको थियो । पछि उनी दावा नभएको पाइयो । प्रहरीका अनुसार त्रिपुरेश्वर घटनाका चालक अर्जुन दोङ तामाङले पटकपटक अरूको नाममा जारी भएका चालक अनुमति पत्र प्रयोग गर्ने गरेका थिए ।
उनी २०८२ कात्तिकमा बालाजुमा भएको बस दुर्घटनापछि फरार थिए । तीन महिनाअघि मुलपानीमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको पनि खुलेको छ । पटकपटक अरूको नाममा जारी भएको लाइसेन्स प्रयोग गर्ने गरेको भेटिएको छ ।
सोमबार भएको घटनापछि प्रहरीले काभ्रेको तिमालका दावा लामा नाममा जारी भएको सवारी चालक अनुमति पत्र फेला पारेको थियो । तर अनुसन्धानका क्रममा उनी मकवानपुरको इन्द्रसरोवार गाउँपालिका–सिस्नेरी निवासी अर्जुन दोङ तामाङ भएको खुल्यो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार तामाङ २०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा समेत संलग्न थिए । त्यसबेला उनले सुनिल तामाङ नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेका थिए ।
दोङको उपचारका क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा सोमबार साँझ ७ बजे निधन भएको छ । घटना भएलगत्तै प्रहरीले उनको गाडीको ढोका फुटाएर भित्र प्रवेश गरेको थियो । त्यसपछि उद्धार गरेर अस्पताल लगिएको थियो भने दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
मंगलबार चालकका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । घटनाप्रति आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकले कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE