आइतवार, भदौ १४, २०८३
Sunday, August 30, 2026

आज परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’

काठमाडौं – परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा विविध कार्यक्रमसहित मनाइँदैछ।

गाईजात्राका अवसरमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने परम्परा छ। नगर परिक्रमा गराइएका गाईलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने गर्छन्। यसरी गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्न सहज हुने धार्मिक विश्वास रहिआएको छ।

गाईजात्रा सुरु हुनुमा राजा प्रताप मल्लसँग जोडिएको ऐतिहासिक प्रसङ्ग छ। पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गराएको इतिहासमा उल्लेख पाइन्छ। पर्व मनाउँदा पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रहसन, हास्यव्यङ्ग्य तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको जनश्रुति छ।

गाईजात्राका क्रममा हनुमानढोकास्थित तत्कालीन राजप्रासाद भएर नगर परिक्रमा गराउने परम्परा पनि कायमै छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गाईजात्राको विशेष रौनक देखिन्छ भने देशका अन्य नेवार समुदायको बाक्लो उपस्थिति रहेका शहरमा पनि यो पर्व उत्साहका साथ मनाइन्छ।

पर्वका क्रममा मृतकको सम्झनामा रामायणका करुण रसका गीत गाउने, नाचगान गर्ने, प्रहसन प्रस्तुत गर्ने तथा सामाजिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने गरिन्छ। पछिल्ला वर्षमा गाईजात्रा हास्य कलाकारका लागि पनि व्यङ्ग्य र मनोरञ्जनमार्फत समसामयिक विषय प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास भएको छ।

काठमाडौँ उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतका शहरमा पनि गाईजात्रा विशेष रूपमा मनाइन्छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x