संसद्मा प्रश्नको जबाफ दिन प्रधानमन्त्री वालेन्द्रलाई सभामुखले रूलिङ गरे
काठमाडौं – संसद्मा उपस्थित भएर प्रश्नको जबाफ दिन प्रधानमन्त्री वालेन्द्र साहलाई सभामुख डोलप्रसाद अर्यालले रूलिङ गरेका छन्। प्रतिनिधि सभाको बैठक शुरु हुनेबित्तिकै सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन निर्देशनात्मक रूलिङ गरेका हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै विपक्षी दलका सांसदहरूले गर्दै आएको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सभामुख अर्यालले उक्त रूलिङ गरे। नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम बैठकमा उपस्थित भई सदस्यहरूको प्रश्नको जबाफ दिन उनले प्रधानमन्त्रीलाई निर्देश गरेका छन्।
सभामुखले यस्तो रूलिङ गर्दा विपक्षी दलका सांसदहरूले समर्थन जनाएका थिए। विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई रूलिङ गरिसकिएकोले अब सभा सञ्चालनमा सहयोग गर्न पनि उनले सबैलाई आग्रह गरेका छन्। प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता संसद्मा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको अनिवार्य रूपमा जबाफ दिनुपर्ने व्यवस्था रहेको छ।


WRITE COMMENTS FOR THIS ARTICLE