बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पाकिस्तानले भारतलाई आफ्नो पानीको ‘एक थोपा पनि’ खोस्न दिने छैन: प्रधानमन्त्री शहबाज शरीफ

काठमाण्डाैं – पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरले भारतलाई धम्की दिएपछि प्रधानमन्त्री शहबाज शरीफको पनि धम्कीपूर्ण अभिव्यक्ति आएको छ ।

फिल्ड मार्सल आसिम मुनीरको धम्कीपछि प्रधानमन्त्री शरीफले पनि भारतलाई धम्की दिएका हुन् । भारत र पाकिस्तानबीच जारी तनावबीच प्रधानमन्त्री शरीफले भारतलाई पाकिस्तानको एक थोपा पनि पानी खोस्न नदिइने चेतावनी दिएका हुन् ।

‘शत्रुले पाकिस्तानको एक थोपा पनि पानी खोस्न सक्दैन । यदि तपाईंले हाम्रो पानी रोक्ने धम्की दिनुभयो र रोक्ने कोसिस गर्नुभयो भने पाकिस्तानले तपाईंलाई कहिल्यै बिर्सन नसकिने पाठ सिकाउने छ’ प्रधानमन्त्री शरीफले चेतावनी दिँदै भनेको द हिन्दूले लेखेको छ ।

उनले पानीलाई पाकिस्तानको जीवनरेखा भएको भन्दै अन्तर्राष्ट्रिय सम्झौताअन्तर्गत पाकिस्तानको अधिकारमा कुनै सम्झौता नहुने दृढता व्यक्त गरे ।

गत अप्रिल २२ मा पहलगाम आतंकवादी आक्रमणको भोलिपल्ट भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर नामक अभियान चलाएको थियो ।

पहलगाम आक्रमणमा २६ जना नागरिकको मृत्यु भएपछि ७ मई मा भारतले ‘अपरेशन सिन्दूर’ सञ्चालन गर्दै पाकिस्तान र पाकिस्तान–अधीनस्थ कश्मीरमा रहेको आतंकवादी पूर्वाधारलाई निशाना बनाएको थियो ।

पाकिस्तानविरुद्ध भारतको दण्डात्मक कदम स्वरूप भारतले सन् १९६० को सिन्धु जलसन्धिलाई निलम्बन गरेको थियो ।

भारतको यस कदमविरुद्ध पाकिस्तानले पानीको प्रवाह रोक्ने कुनै पनि प्रयासलाई युद्धको कार्यका रूपमा लिइने भन्दै चेतावनी दिएको थियो ।

‘म आज शत्रुलाई भन्न चाहन्छु-यदि तपाईं हाम्रो पानी रोक्ने धम्की दिनुहुन्छ भने यो कुरा सम्झनुहोस् कि तपाईं पाकिस्तानको एक थोपा पनि खोस्न सक्नुहुन्न,’ प्रधानमन्त्री शरीफले इस्लामाबादमा मंगलबार एक कार्यक्रममा सम्बोधन गर्दै भने ।

उनले चेतावनी दिँदै भने, ‘यदि भारतले यस्तो कदम चाल्ने कोसिस ग¥यो भने, फेरि तपाईंलाई यस्तो पाठ पढाइनेछ कि तपाईं कान समातेर बस्नुहुनेछ ।’

यसअघि फ्लोरिडाको टाम्पामा बसेका पाकिस्तानी प्रवासीहरूलाई सम्बोधन गर्दै सेनापति मुनीरले धम्की दिँदै भनेका थिए, ‘भारतले पाकिस्तानको पानी रोकेमा इस्लामाबादले कुनै पनि बाँध ध्वस्त पार्न सक्छ ।’

‘हामी भारतलाई बाँध बनाउन कुर्छौँ र जब उनीहरूले बनाउँछन्, हामी त्यसलाई नष्ट गर्छौँ,’ उनको धम्कीलाई पाकिस्तानको डन पत्रिकाले उद्धृत गर्दै उल्लेख गरेको छ ।

‘सिन्धु नदी भारतीयहरूको पारिवारिक सम्पत्ति होइन । नदी रोक्ने भारतीय योजनालाई असफल पार्न हामीसँग साधनको कमी छैन’ पाकिस्तानी सेनापति मुनीर चेतावनी दिएका थिए ।

त्यसअघि पूर्व परराष्ट्रमन्त्री बिलावल भुट्टो जर्दारीले पनि सिन्धु जलसन्धिको निलम्बनलाई सिन्धु सभ्यतामाथिको आक्रमणको रूपमा वर्णन गर्दै भनेका थिए, ‘यदि नयाँ दिल्लीले पाकिस्तानलाई युद्धमा धकेल्यो भने पाकिस्तान पछि हट्ने छैन ।’

विश्व बैंकको मध्यस्थतामा ९ वर्षसम्म लामो वार्तापछि सन् १९६० मा भारत र पाकिस्तानबीच सिन्धु जलसन्धिमा हस्ताक्षर भएको थियो ।

यो विश्वका सबैभन्दा दीर्घकालीन जलविनिमय सम्झौतामध्ये एक मानिन्छ । यस सम्झौताअनुसार पश्चिमी नदीहरू सिन्धु, झेलम र चेनाब पाकिस्तानलाई दिइएको छ भने पूर्वी नदीहरू रवी, बीस र सतलज भारतको भागमा परेको छ ।

प्रत्येक पक्षलाई अर्को पक्षको नदीमा सीमित अधिकार प्राप्त छन् । भारतले सिन्धु प्रणालीको २० प्रतिशत पानी पाउँछ भने बाँकी ८० प्रतिशत पाकिस्तानले पाउँछ ।

भारत र पाकिस्तानबीच १० मईमा चार दिनसम्म चलेको ड्रोन तथा मिसाइल आक्रमणपछि युद्ध अन्त्य गर्ने सहमति गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x