मङ्लबार, भदौ २, २०८३
Tuesday, August 18, 2026

भेला समापनमा नेता खड्का अनुपस्थित हुनुको अर्थपूर्ण कारण

काठमाडौं-नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा फेरि एकपटक नयाँ तरङ्ग पैदा भएको छ। इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थित भएका छन्। पूर्वसभापति शेरबहादुर देउवाका अत्यन्त विश्वासपात्र मानिने खड्काको यो अनुपस्थिति र इतर पक्षका गतिविधिप्रतिको असन्तुष्टिले कांग्रेसको आन्तरिक समीकरणमा नयाँ मोड आउने संकेत गरेको छ।

​जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिका बीच सभापति देउवाले पार्टीको जिम्मेवारी सुम्पिएका खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनमार्फत भएको नेतृत्व चयन र त्यसपछिका समानान्तर अभ्यासलाई रुचाएका छैनन्। निर्वाचन आयोग र अदालतबाट गगन नेतृत्वको पक्षले आधिकारिकता पाएपछि इतर समूह निरन्तर आक्रामक रूपमा प्रस्तुत हुँदै आएको छ। तर, खड्का भने पार्टीलाई थप विभाजनतर्फ लैजाने खालका समानान्तर गतिविधिको पक्षमा नरहेको उनको निकट स्रोतले दाबी गरेको छ।

इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५औँ महाधिवेशन आयोजना गर्ने र त्यसको सम्पूर्ण तयारीको जिम्मा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई सुम्पिने निर्णय गरेसँगै इतर समूहको नेतृत्व अब कोइरालातर्फ सरिसकेको छ। सुरुवाती चरणमा देउवाको असहजतालाई ध्यानमा राख्दै मात्र कार्यक्रममा उपस्थित भएका खड्काले पार्टी फुटाउने वा समानान्तर संरचना खडा गर्ने कार्यले कांग्रेसलाई बलियो नबनाउने निष्कर्श निकालेका छन्।

​पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र यसमा पुनरावलोकनको आदेशसमेत आइसकेको अवस्थामा कानुनी र अदालती प्रक्रियाको अन्तिम टुंगो पर्खनुपर्ने खड्काको अडान छ। इतर समूहका अन्य नेताहरूले धैर्य गुमाएर समानान्तर बाटो समातेपछि खड्का यो समूहका गतिविधिबाट टाढिँदै गएका हुन्। यस घटनाले कांग्रेसको संस्थापन तथा इतर दुवै शिविरभित्र वैचारिक तथा कार्यगत स्पष्ट ध्रुवीकरण र असन्तुष्टि छताछुल्ल भएको स्पष्ट पारेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x