शुक्रबार, साउन २२, २०८३
Friday, August 7, 2026

महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्ने सरकारी नीति नभएको मन्त्री बादीकाे दाबी

 काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका हुन् ।

उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको स्पष्ट पारे ।

नि:शुल्क ब्लु बस लैंगिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतामा आधारित उपाय भएको उनको भनाइ छ ।

महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य भएको धारणा उनले राखे ।

मन्त्री बादीले ब्लु बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभइ महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र संक्रमणकालीन प्रयास भएको बताइन् ।

सार्वजनिक यातायात प्रणालीलाई लैंगिक मैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x