६ महिना भन्दा बढी कुनै पनि हालतमा सरकारमा बस्दिन-प्र.म.कार्की

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिना भन्दा बढी कुनै पनि हालतमा सरकारमा नबस्ने बताएकी छिन् । आइतबार आफ्नो पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
उनले आफुले रहरले प्रधानमन्त्री हुन नआएको बताएकी छिन् । ‘सबैबाट आवाज उठ्यो र म विवश भएँ । रसस्वादन गर्न आएको होइन । उमेर पनि होइन,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले पहिलो सम्बोधन गर्दै सुरक्षा निकायहरू, प्रहरीका बिटहरू, सर्वोच्च अदालत, तराईका सम्पूर्ण जिल्ला अदालत, उच्च अदालत लगायत सिंहदरबार समेत आगोमा जलेको बताएकी छिन् । ‘हाम्रा रेकर्ड, प्रमाण र सर्वोच्च अदालतका फाइलहरू सबै नष्ट भएर हामीलाई ठूलो क्षति पुगेको छ । भौतिक भवनको क्षतिले केही हुँदैन बनाउन पनि सकिन्छ । तर ती रेकर्डहरू, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेका छौं,’ उनले भनिन् ।
सम्बोधनमा प्रधानमन्त्री कार्कीले भनिन् ‘सुरक्षाकर्मीहरूको पनि देहावसान भयो । सम्पूर्ण प्रहरी कार्यालयका सवारी साधनहरू अर्को खरिद गर्नुपर्ने अवस्था छ । आगजनीका कुरा गर्दा, मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानी छानी प्रहार भएको छ । प्रहरीका चौकी, थाना जले । अदालतका फाइलहरू, सिंहदरबारका फाइलहरू नष्ट भए । यो देखेर लाज पनि लागेको छ । नेपाली भएर यो काम गरेको हो भने नेपाली कसरी भन्ने ?,’
‘नियोजित रूपमा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ । अनुसन्धान हुन बाँकी छ । प्रहार र नोक्सान गर्नेहरूको खोजतलास र कारबाही हुन्छ,’ उनले भनिन् ‘हाम्रो लागि अपराधीहरूले गरेको कृत्य हामी माथिको चुनौती हो । मुलुकविरूद्ध गरेको चुनौती हो । सबै मिलेर एकताको भावना राखौं । मुलुकमा जुन मुभमेन्ट’ भयो, अन्त कहीँ भएको छैन । २७ घन्टाको आन्दोलनमा कायापलट भयो । यो समयले मागेको भ्रष्टाचारको अन्त्य, सुशासन, आर्थिक समानता हो । क्षतिहरूको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाउनुपर्छ ।’
प्रधानमन्त्री कार्कीले प्रदर्शनका क्रममा मृत्यु भएका प्रदर्शनकारीलाई शहिद घोषणा गरी परिवारलाई १०÷१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको बताइन् । ‘२३ गते मृत्युवरण गरेकाहरूको परिवार भेटेँ। फर्केर मुख्यसचिवसँग रातिसम्म छलफल ग¥यौं । उहाँहरूलाई सहिद घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरे । सिस्टमले १० लाख रूपैयाँको दिने सीमा राखेको छ। त्यो १० लाख दिने निर्णय गयौं,’ उनले भनिन् । साथै घाइतेहरूलाई निशुल्क उपचार र राहत लागू गरेको उनले बताइन् ।
उनले भनिन् ‘मृतकका परिवारहरू काठमाडौंमै हुनुहुन्छ होला । उहाँहरू बसेको, खाएको खर्च हेरिदिने, शवलाई उनीहरूको स्थानीय ठेगानामा पुयाइदिने व्यवस्था गरिनेछ । अपांगता भए पछिसम्म उपचार गर्ने व्यवस्था हुन्छ ।’
प्रदर्शनबाट क्षतिग्रस्त भएको निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग गर्ने भएको छ । आइतबार सम्बोधन गर्दे प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई पनि केही गर्न सकिन्छ भनेर साथीहरूले प्रयत्न गरिरहेको बताइन् । ‘सबै पक्ष मिलेर नेपाल बनाउनुपर्छ । सरकार अहिले विषम आर्थिक परिस्थितिमा छ। जनता पनि विषम परिस्थितिमा छन् । २४ गते आतंक जस्तो मच्चाइयो । व्यक्तिको सम्पत्तिको, उद्योग, व्यापार नष्ट गर्ने काम भएको छ । कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन् । उनीहरूलाई कसरी उठाउने भन्ने हामी सोच्छौं । बैंकको सफ्ट लोनहरू दिएर हुन्छ कि, कसरी हुन्छ गर्नेछौं । सटर खोलेकाहरू पनि लुटिएका छन् । उठ्ने कोशिस गर्छौं भन्नुभएको छ । सरकारले पनि आवश्यक सहयोग गर्छ,’ उनले भने ।
WRITE COMMENTS FOR THIS ARTICLE