बुधबार, साउन २०, २०८३
Wednesday, August 5, 2026

ग्यासको वास्तविक अभाव छैन वितरण प्रणालीमा समस्या: सचिव दुवाडी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बजारमा ग्यासको वास्तविक अभाव नरहेको बताएका छन्।

उनले वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव सिर्जना भएको स्पष्ट पारे। मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको ग्यासको आपूर्ति व्यवस्थापनसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्।

आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उनले जानकारी दिए। पूर्ण १४ केजीको ग्यास वितरण गर्न थालेपछि बजारमा एकैसाथ सिलिण्डर आउँदा वितरण प्रणालीमा चाप बढेको उनको भनाइ छ।
पछिल्लो तीन महिनामा २३ लाख सिलिण्डर रिफिल नभएको उनले बताए। तीन महिनाको तथ्यांक विश्लेषण गर्दा कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर वितरण भएको उनले उल्लेख गरे।
आधा सिलिन्डरबाट पूर्ण सिलिण्डर वितरण गर्न थालेपछि एकैपटक ठूलो संख्यामा सिलिण्डर बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनको दाबी छ। यसअघि मासिक ४६ देखि ४७ हजार मेट्रिक टनको हाराहारीमा ग्यासको माग रहेकोमा हाल बढेर करिब ६० हजार मेट्रिक टन पुगेको उनले बताए।
उनले इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एकदेखि डेढ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिए। हाल ६० हजार मेट्रिक टनको पूर्ण आपूर्ति नभए पनि करिब ५० हजार मेट्रिक टन ग्यास आपूर्ति गर्ने व्यवस्था गरिएको उनले बताए।

छलफलका क्रममा उनले भने, ‘कम्तीमा ७० लाख सिलिण्डर बजारमा आउनुपर्नेमा ५४ लाख सिलिण्डर मात्रै रिफिल भएर बजारमा आएको अवस्था देखियो।’

उनले थपे, ‘यो तीन महिनाको डेटा हेर्दा करिब २३ लाख सिलिन्डर रिफिल हुन सकेनन्।’

ग्यास सिलिण्डर पूर्ण रूपमा रिफिल हुन नसक्ने कारणबारे उनले भने, ‘जब हामी फुल सिलिण्डरमा आयौँ, ती सबै ग्यास सिलिन्डर एकैचोटि बजारमा आए।’

उनले थप प्रस्ट्याउँदै भने, ‘हाफ सिलिन्डरको बेला माग करिब ४६ हजार मेट्रिक टनको थियो। अघिल्ला वर्षहरूको डाटाले पनि यही रेन्जमा माग रहिरहेको अवस्था देखाउँछ।’

बजार माग बढेको सन्दर्भमा उनले भने, ‘जब हामी हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा गयौँ, माग एकदमै माथि पुग्यो। अहिले माग करिब ६० हजार मेट्रिक टन पुगेको देखिन्छ।’

आगामी आपूर्तिको विषयमा उनले भने, ‘इन्डियन आयल कर्पोरेसनसँग कम्तीमा एक–डेढ महिनाको लागि थप ग्यास आपूर्ति दिन अनुरोध गरेका छौँ। अहिले ६० हजार मेट्रिक टन नै पूरा भइसकेको अवस्था होइन, करिब ५० हजार मेट्रिक टन छ।’

तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘५० हजार मेट्रिक टन पनि अघिल्ला आर्थिक वर्षहरूको यही महिनाको तुलनामा बढी हो। साउन १९ गतेसम्म आइपुग्दासम्म ३१ हजार मेट्रिक टन ग्यास आइसकेको छ।’

बजार व्यवस्थापनबारे उनले भने, ‘ग्यासको परिमाण अपत्यारिलो रूपमा अपर्याप्त होइन भन्ने यो डेटाबाट देखिन्छ। यो आपूर्तिको विषय र बजारभित्रको सर्कुलेसनको विषयलाई व्यवस्थित गरेर लानुपर्ने अवस्था छ।’

साउन १९ गतेसम्म ३१ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको उल्लेख गर्दै उनले अझै केही समय ग्यास अपुग नै रहने बताए। उनका अनुसार ४१ जिल्लामा ग्यासको धेरै समस्या छैन। २८ जिल्लामा भने केही समस्या देखिएको छ र करिब आठ जिल्लामा विशेष व्यवस्थापन तथा निगरानी आवश्यक रहेको उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x