आन्दोलनको घोषणा लगतै दुर्गा प्रसाईं पक्राउ
काठमाडौं-मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।
भक्तपुरको निकोसेरास्थित आफ्नै निवासबाट उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रसाईंले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि भन्दै आन्दोलनको औपचारिक घोषणा गरेका थिए। पत्रकार सम्मेलन सकिएलगत्तै प्रहरी टोली उनको निवास पुगेर नियन्त्रणमा लिएको छ।
सार्वजनिक शान्तिमा खलल पुर्याउने तथा भड्काउ अभिव्यक्ति दिने गरेको आरोपमा प्रहरीले उनलाई यसअघि पनि पटक-पटक नियन्त्रणमा लिँदै छाड्दै आएको थियो।
पछिल्लो समय सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चहरूबाट दिइने अभिव्यक्ति र अराजक गतिविधिलाई लिएर प्रहरीले उनीमाथि सूक्ष्म निगरानी राख्दै आएको थियो।
हाल उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ भने पक्राउको विषयमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE