मङ्लबार, अशोज २७, २०८३
Tuesday, October 13, 2026

पोषण र स्वास्थ्यको मिठो संगम, खिरः परम्परा,

काठमाडौं – नेपाली समाजमा चाडपर्व र संस्कृतिसँग विभिन्न परिकार जोडिएका छन् ।

असार १५ मा दही–चिउरा खाने परम्परा भएजस्तै साउन १५ मा खिर खाने चलन पनि परापूर्वकालदेखि चलिआएको छ । स्वास्थ्य र पोषणका दृष्टिले पनि खिरलाई पौष्टिक तथा ऊर्जादायी खाना मानिन्छ ।

पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर सन्तुलित तथा पौष्टिक खाना हो । कृषि प्रधान मुलुक नेपालमा साउन १५ मा खिर खाने परम्पराको विशेष महत्व रहेको उहाँ बताउनुहुन्छ ।

खेतीपातीको काममा व्यस्त भएर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने परम्पराको विकास भएको हुन सक्ने उहाँको भनाइ छ ।“त्यो बेला अहिलेको जस्तो विभिन्न प्रकारका खानेकुरा सहज रूपमा पाइँदैनथे । खिरलाई उत्तम खानाका रूपमा लिइन्थ्यो । काम गरेर थाकेको शरीरलाई ऊर्जा दिन खिर खाने चलन चलेको हुनुपर्छ,” उहाँ भन्नुहुन्छ ।

पोषणका हिसाबले पनि खिरलाई उच्च कोटीको खानाका रूपमा लिन सकिने डा। कोइराला बताउनुहुन्छ । बर्खायाममा विभिन्न किसिमका सङ्क्रामक रोगको जोखिम बढ्ने भएकाले पौष्टिक खाना खान आवश्यक हुने उहाँको भनाइ छ ।

“बर्खाको समयमा विभिन्न सङ्क्रामक रोगको जोखिम बढ्छ । यस्तो अवस्थामा खिर पकाएर खाँदा शरीरलाई ऊर्जा प्राप्त हुनुका साथै आवश्यक पोषक तत्त्व प्राप्त गर्न मद्दत गर्छ,” उहाँ भन्नुहुन्छ ।

खिरमा के पाइन्छ ?

खिर मुख्यतः दुध, चामल, घिउ, चिनी वा गुड राखेर पकाइन्छ । दुधमा प्रशस्त मात्रामा प्रोटिन र क्याल्सियम पाइन्छ भने चामलमा कार्बोहाइड्रेट पाइन्छ । यी सामग्रीबाट तयार हुने खिरले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्न सहयोग गर्छ ।

प्रोटिनले शरीरका मांसपेशी तथा हड्डीको विकास र पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने डा.कोइराला बताउनुहुन्छ ।

“खिरमा पाइने प्रोटिनले मांसपेशी र हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । बालबालिकालाई खिर दिनाले उनीहरूको बढ्दो उमेरमा हड्डी तथा मांसपेशीको विकासमा सहयोग पुग्छ,” उहाँ भन्नुहुन्छ ।

पछिल्लो समय खिरमा चामल, दूध, घिउ र चिनी वा गुडसँगै सुक्खा नरिवल, छोकडा तथा विभिन्न प्रकारका ड्राइफ्रुट्ससमेत प्रयोग गर्ने चलन बढेको छ । यस्ता सामग्री थप्दा खिर स्वादिलो हुनुका साथै यसमा पाइने पोषक तत्त्वको मात्रा पनि बढ्न सक्छ।

“यसरी विभिन्न पौष्टिक सामग्री मिसाएर तयार गरिएको खिरबाट क्यालोरी, प्रोटिन, खनिज पदार्थ, आइरनलगायत शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व प्राप्त गर्न सकिन्छ,” उहाँ भन्नुहुन्छ ।

खिर बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त पौष्टिक परिकार रहेको डा.कोइरालाको भनाइ छ । साउन १५ जस्ता सांस्कृतिक पर्वले नेपाली परम्परा, खानपान र त्यसको स्वास्थ्य महत्वबारे नयाँ पुस्तालाई जानकारी गराउने अवसरसमेत प्रदान गर्ने उहाँ बताउनुहुन्छ ।

“हाम्रा चाडपर्व सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छन् । यस्ता परम्पराको महत्व नयाँ पुस्ताले बुझ्ने र संरक्षण गर्ने वातावरण बनाउनुपर्छ,” उहाँ भन्नुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments