करार र दैनिक ज्यालादारी कर्मचारीलाई तत्काल नहटाइने
काठमाडौं – विभिन्न सरकारी कार्यालयमा करार र दैनिक ज्यालादारीका रुपमा कार्यरत कर्मचारीलाई भोलि साउन १ गतेदेखि हाजिर गर्न दिइने भएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले ती कर्मचारीलाई पूर्ववत् हाजिर गराइने बताए ।
करारका कर्मचारी हटाउने सरकारको निर्णयविरुद्ध आन्दोलनरत अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी श्रमिक संघका अध्यक्ष काशीराज श्रेष्ठले तत्कालका लागि सरकार आफ्नो निर्णयबाट पछाडि हटेको बताए । बुधबारको वार्तामा अस्थायी करार तथा ज्यालादारी कर्मचारीलाई व्यवस्थापन गर्न सरकारले सरोकारवालासँग छलफल गरेर ठोस नीति बनाउने आश्वासन दिएको उनले बताए ।
यदि करार र दैनिक ज्यालादारी कर्मचारीलाई हटाइएको भए संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट बञ्चित हुन लागेका थिए । हाल संघीय सरकारअन्तर्गत करिब १४ हजार, प्रदेशअन्तर्गत ८ हजार र स्थानीय तहअन्तर्गत ३५ हजार कर्मचारी करार र दैनिक ज्यालादारीमा कार्यरत छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रका करार र ज्यालादारी कर्मचारीसमेत सेवा बञ्चित हुँदा त्यस्ता कर्मचारीको संख्या २ लाख नाघ्ने भएको थियो । तर, सरकारले उनीहरुलाई तत्काल नहटाउने भएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE