शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

फिफा विश्वकप २०२६: शुक्रवार स्पेन, पोर्चुगल र क्रोएसियासहित आठ टोली मैदानमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का थप चार रोमाञ्चक खेलहरू नेपाली समयअनुसार आज (शुक्रवार  बिहान र राति)  हुँदै छन्। अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित युरोप, अफ्रिका र एसियाका बलिया टोलीहरू मैदान उत्रँदा सबै खेलमा कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ।

खेल तालिका र नेपाली समय

शुक्रवार पहिलो खेल बिहान १२:४५ बजे अमेरिकाको लस एन्जलस स्टेडियममा हुँदै छ, जहाँ समूह ‘एच’ को विजेता स्पेनले समूह ‘जे’ को उपविजेता अस्ट्रियाको सामना गर्नेछ। स्पेनले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान बनाएको हो भने अस्ट्रिया अर्जेन्टिनापछि दोस्रो स्थानमा रहँदै नकआउट चरणमा आइपुगेको हो।

त्यसपछि दोस्रो खेल बिहान ४:४५ बजे क्यानडाको टोरन्टो स्टेडियममा हुनेछ। यस खेलमा समूह ‘जे’ को विजेता पोर्चुगल र समूह ‘एच’ को उपविजेता क्रोएसियाबिच महाभिडन्त हुनेछ। पोर्चुगल प्रभावशाली खेल प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेर आएको हो भने क्रोएसिया उपविजेता का रूपमा नकआउट यात्रा तय गर्न सफल भएको हो।

यस्तै, तेस्रो खेल बिहान ८:४५ बजे बीसी प्लेस रङ्गशालामा स्विट्जरल्यान्ड र अल्जेरियाबीच हुनेछ। दुवै टोलीले कठिन समूह चरण पार गर्दै अन्तिम ३२ मा आफ्नो स्थान सुरक्षित गरेका हुन्। शुक्रवारको अन्तिम खेल राति ११:४५ बजे अमेरिकाको एटी एन्ड टी स्टेडियममा अस्ट्रेलिया र इजिप्टबिच हुनेछ। दुवै टोलीले आफ्नो निर्णायक समूह खेलमा जित निकाल्दै नकआउट चरणमा स्थान बनाएका थिए।

राउन्ड अफ १६ को निश्चित समीकरण

फिफाको आधिकारिक प्रतियोगिता ब्र्याकेट (Tournament Bracket) को नियम अनुसार नकआउट चरणको समीकरण पहिले नै तय भइसकेको छ। जसअनुसार शुक्रवारको पहिलो खेल अर्थात् स्पेन र अस्ट्रियाबिचको विजेताले राउन्ड अफ १६ मा पोर्चुगल र क्रोएसियाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै ब्र्याकेटका अन्य खेलहरूमा, स्विट्जरल्यान्ड र अल्जेरिया खेलको विजेताले बलियो टोली इङ्गल्यान्डसँग सामना गर्नुपर्नेछ। अर्कोतर्फ, अस्ट्रेलिया र इजिप्टबिचको विजेताले भने अर्जेन्टिना र केप भर्डेबीच हुने खेलको विजेतासँग राउन्ड अफ १६ मा प्रतिस्पर्धा गर्ने तय भएको छ।

विश्वकपमा राउन्ड अफ ३२ का खेलहरू सुरु भएसँगै क्यानडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्यान्ड, बेल्जियम र अमेरिकालगायतका टोलीहरूले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेका छन्। फ्रान्सले पनि यसअघि नै स्विडेनलाई पराजित गरेर अर्को चरणमा पाराग्वेसँगको भेट पक्का गरिसकेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x