पार्टी नछाड्नुस्, पुनर्गठन हुन्छ – ओली
नेकपा (एमाले)ले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गर्दै नेता कार्यकर्तालाई पार्टी नछाड्न आग्रह गरेको छ।
शुक्रबार ४६ पेज लामो अपानी जारी गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी नछाड्न एमालेका पुराना नेताकार्यकर्ताहरूलाई आग्रह गरेका हुन्।
आगामी असार दोस्रो साता हुने पार्टी केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढ्ने भन्दै ओलीले वर्तमान अवस्थामा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताएका छन्।
‘निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ। यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संचार जागृत गर्नु आवश्यक छ,’ अपानीमा ओलीले भनेका छन्, ‘पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्य योजना अघि बढाइने छ। पार्टी सदस्यता नवीकरणको प्रक्रियाबाट नै त्यो काम अघि बढाइने छ।’
जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव रहेको चर्चा अपानीमा गरिएको छ।
‘जतिसुकै गम्भीर समस्या भए त्यसको समाधान सम्भव छ। चुनौती जतिसुकै जटिल भए पनि त्यसको पनि सामना गर्न सकिन्छ। इतिहासका विभिन्न कालखण्डमा गम्भीर भन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु,’ ओलीले भनेका छन्।
निर्वाचनमा के कस्तो कमी कमजोरी रहे? कस्को के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदनमार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने बताउदै ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्, ‘निश्चय नै निर्वाचनको अस्वभाविक परिणामबाट हामी सबै चिन्तित छौँ। पार्टीका सामु उत्पन्न चुनौती र संकटलाई सामना गरेर नै हामीले निर्वाचनका समयमा भन्ने गरेको देश पहिला भन्ने नाराको सार्थकतालाई पुष्टि गर्न सफल हुनेछौँ।’
अपानीमा ओलीले पुराना दलहरूलाई सिध्याउने षडयन्त्र जारी रहेको पनि चर्चा गरेका छन्। लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई सिध्याउने षडयन्त्र भइरहेको चर्चा गर्दै अपानीमा भनिएको छ, ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ।’
गत भदाै २३ र २४ गतेको घटनापछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउने एमालेले प्रतिनिधि सभा पुनर्स्थापना एजेण्डा अगाडि बढाए पनि अरु दलहरूले साथ नदिएकाले चुनावमा भाग लिन बाध्य भएको प्रष्टोक्ति ओलीले दिएका छन् ।
‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधि सभाको पुनःस्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरुले साथ नदिएका कारणले हाम्रो पार्टी समेत निर्वाचनमा जानु परेको थियो,’ अपानीमा लेखिएको छ।
अरु दलले साथ नदिँदा भाग लिनुपरेको चुनावमा एमालेले जित्न नसकेको चर्चा पनि अपानीमा गरिएको छ। ‘निर्वाचनको परिणाम हाम्रोूपार्टीको पषमा रहेन नै, नेपालका प्रमुख लोकतान्त्रिक पार्टीहरूको पक्षमासमेत रहेन,’ ओलीले अपानीमा लेखेका छन्।
एमालेको अपानीमा प्रदेश र स्थानीय चुनाव एकैपटक गराउनेगरी वर्तमान सरकार तयारीमा जुटेको चर्चा छ।
‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ,’ अपानिमा ओलीले भनेका छन्। KP Apani


WRITE COMMENTS FOR THIS ARTICLE