काठमाडौं महानगरपालिकाले बौद्ध महोत्सव २०८३ गर्ने
काठमाडौं – यही २३ जेठमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको आयोजनामा बौद्धमा ‘बौद्ध महोत्सव २०८३’ आयोजना गरिने भएको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको बताइएको छ ।
महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुने सो महोत्सवमा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृतिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला-हस्तकला, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुतिहरू रहनेछन् । कार्यक्रमलाई अझ आकर्षक बनाउन द एक्से, हर्कुलेस दस्नेत, द रेन्डर, द पासा रकर्स, फुर्बा एन्ड द ब्यान्ड, स्थानीय कलाकारहरू तथा सांस्कृतिक समूहहरूको प्रस्तुति रहनेछ ।
वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताए । उनका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासम्म पुर्याउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE