काठमाडौं – नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाएर प्रयोगमा ल्याउने कार्यलाई अगाडि बढाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८२ फागुन २८ गते राजपत्रमा प्रकाशित गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ अनुसार निगमले यस प्रक्रियालाई अघि बढाएको हो ।
निगमले सूचना जारी गर्दै राजपत्रमा उल्लेख भए बमोजिमको गुणस्तर र विधि अनुसारको इथानोल खरिद गर्ने जनाएको छ। यसका लागि उत्पादन तथा आपूर्ति गर्न इच्छुक स्वदेशी उत्पादकहरूलाई निगममा निवेदन दर्ता गर्न आह्वान गरिएको छ ।
निगमका अनुसार इथानोल उत्पादनका लागि कच्चा पदार्थसमेत तोकेको छ ।
जसअनुसार चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेको अन्न, सिमल तरुल (कास्साभा) र फर्मेन्टेसनका लागि चाहिने मर्चा (यिस्ट) हुन् ।
निगमले सर्बसाधारणले खाद्यान्नको रूपमा प्रयोग गर्ने राम्रो अन्नलाई भने इथानोल उत्पादनको कच्चा पदार्थको रूपमा प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE