बिहिबार, जेष्ठ ७, २०८३
Thursday, May 21, 2026

न्यायाधीश कुमार रेग्मी न्याय परिषद् सदस्यबाट बाहिरिए, अध्यक्ष मल्ल सदस्यमा घटुवा

काठमाडौं – सर्वोच्च अदालतको रोलक्रम र समीकरणमा आएको ठुलो फेरबदलसँगै न्यायाधीश कुमार रेग्मी न्याय परिषद्को सदस्यबाट बाहिरिएका छन्।

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पदबहालीसँगै सर्वोच्च अदालतको ‘वरिष्ठतम न्यायाधीश’ को समीकरण बदलिँदा रेग्मी परिषद्को जिम्मेवारीबाट बाहिरिनु परेको हो।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अवकाशपछि न्यायाधीश सपना प्रधान मल्लले कार्यवाहक (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी थिइन्। मल्ल कामु भूमिकामा रहँदा उनी न्यायपरिषद अध्यक्ष थिइन् र दोस्रो बरियताका बरिष्ठतम न्यायाधीश कुमार रेग्मी परिषद सदस्य थिए ।

तर, मङ्गलवार डा. मनोजकुमार शर्माले ३३ औँ प्रधानन्यायाधीशका रूपमा शपथ र कार्यभार सम्हालेपछि सपना प्रधान मल्ल कामु भूमिकाबाट फिर्ता भएर सर्वोच्चको वरिष्ठतम (नम्बर दुई) न्यायाधीश कायम भएकी छन्। उनी परिषद अध्यक्षबाट घटुवा भएर सदस्य भएकी छिन् । तेस्रो बरियतामा पुगेका रेग्मीको बरिष्ठतम न्यायाधीश पद र परिषद सदस्यता खोसिएको छ ।

नेपालको संविधान र न्याय परिषद् ऐन बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश स्वतः न्याय परिषद्को सदस्य हुने व्यवस्था छ। मल्ल वरिष्ठतम न्यायाधीशको भूमिकामा फर्किएसँगै अब न्याय परिषद्को सदस्य पद स्वतः मल्लको भागमा पुगेको छ। यससँगै न्यायाधीश रेग्मीको वरिष्ठतमको हैसियत र न्याय परिषद्को सदस्यता समाप्त भएको हो।

नयाँ नेतृत्वको आगमनसँगै सर्वोच्च अदालत प्रशासनले न्यायाधीश मल्ललाई कामुको च्याम्बरबाट एनेक्स भवनको तेस्रो तलामा नयाँ कार्यकक्ष (च्याम्बर) समेत व्यवस्थापन गरिसकेको छ। नयाँ प्रधानन्यायाधीशको नियुक्तिले सर्वोच्चभित्रको आन्तरिक शक्ति सन्तुलन र प्रशासनिक संरचनामा निकै ठुलो हलचल ल्याएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x