भन्सारमा कडाइ गरिए पनि रोकिएन तस्करी
कैलालीको त्रिनगर नाकामा बिहीबार सशस्त्र प्रहरी बलले भारतबाट सामान क्यारिङ गर्ने एक महिलालाई भन्सार छलीको सामानसहित पक्राउ गर्न खोज्यो । ती महिला भागेर प्रहरी चौकी त्रिनगर पुगिन् । त्यसपछि सशस्त्र प्रहरीले भन्सार छलीको सामान ल्याएको भन्दै उक्त सामान बरामद गर्न प्रहरीलाई अनुरोध गर्यो ।
सामान बरामद गर्ने विषयमा प्रहरी र सशस्त्रबीच नै विवाद भयो । विवादपछि सशस्त्र प्रहरीले उक्त सामान प्रहरी चौकीमै छोडेको थियो । तर, प्रहरी चौकीमा राखिएको उक्त सामान दोस्रो दिन अर्थात् शुक्रबार महिलालाई फिर्ता गरिएको थियो । त्यही सामान धनगढी चौराहातर्फ अटोमा हालेर ल्याइरहेका अवस्थामा सशस्त्र प्रहरीको चेकपोस्टले बरामद गरेको छ । सशस्त्र प्रहरीका अनुसार ती महिलाले ४० हजार रुपैयाँ बराबरको कपडा भारतबाट ल्याएकी थिइन् ।
प्रहरी चौकीमा राखिएको भन्सार छलीको सामान क्यारिङ गर्ने महिलालाई फिर्ता गरिएको घटनाले प्रहरीमाथि प्रश्न उठेको छ । त्रिनगर प्रहरी चौकीका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक रामसिंह बोहराको कार्यशैली पनि विवादमा तानिएको छ । यता, प्रहरी चौकी त्रिनगरले पनि कयौँपटक सशस्त्र प्रहरीले छोडेको भन्सार छलीको सामान आफ्नो टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
यी घटनाले भन्सार नाकामा कडाइ भनिए पनि तस्करी नरोकिएको पनि पुष्टि भएको छ । सरकारले १०० रुपैयाँ बढीको सामान स्थलमार्ग भएर आयात गर्दा भन्सार लाग्ने नियम कार्यान्वयन गरेपछि तस्करी झन मौलाएको नेपाली व्यवसायीहरू नै बताउँछन् ।
‘नाकाहरूमा अहिले त रमिता नै चलेको छ,’ धनगढीका एक व्यवसायीले भने, ‘प्रहरीले सेटिङमा छोडेको सामान सशस्त्र र सशस्त्रले छोडेको सामान प्रहरीले समात्ने गरेको छ । सेटिङ मिल्यो भने सशस्त्र र प्रहरी दुवैबाट उन्मुक्ति पाउन सकिन्छ ।’ नेपाल प्रहरी र सशस्त्र प्रहरीबाटै तस्करलाई संरक्षण भइरहेको उनको आरोप छ ।
ती व्यवसायीका अनुसार अहिले पनि सीमानजिक रहेका नेपाली बजार भन्सार छलीको सामानले नै चलेका छन् । ‘नाकाबाट सय रुपैयाँ बढीको सामान भन्सार नबुझाइ ल्याउन दिइएको छैन भनेर चर्चा गरियो,’ ती व्यवसायीले भने, ‘मूल नाकासँगै खुला सीमानाको फाइदा उठाएर धमाधम सामान भित्रिरहेको छ ।’
सर्वसाधारणलाई १०० रुपैयाँ बढीको सामान भन्सार महसुल नतिरी ल्याउन नदिइए पनि क्यारिङ गर्नेहरूलाई भने मूल नाकामा पनि रोकतोक छैन । कैलालीमा क्यारिङ गर्नेहरू अधिकांश महिला छन् । तिनै क्यारिङ गर्नेहरूले भन्सार छलेर नेपाली व्यवसायीको पसलसम्म सामान पुगाउने गरेका छन् ।
सरकारले विदेशबाट आयात हुने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्नुपर्ने नियम लगाएपछि केही समय भन्सार कार्यालयमा जाँचपासको काम नै ठप्प भएको थियो । उक्त नियमले भन्सारबाट आयात रोकिँदा चोरी नाकाबाट तस्करीको सामान भित्रिरहेको थियो ।
तर, अहिले उक्त निर्णयबाट सरकार पछि हटेर एमआरपी घोषणाको आधारमै भन्सार जाँचपास गर्न थालिएको बताइएको छ । यता, सीमा सुरक्षा गुल्म त्रिनगरको तथ्यांकअनुसार पछिल्लो समय भन्सार छलीको सामान धमाधम बरामद भएको देखाउँछ । गुल्मका अनुसार वैशाख महिनामा मात्रै ३० लाख बराबरको सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पनि भन्सार छली रोक्न निगारनी बढाइएको जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दैनिक भन्सार छलीको सामान नियन्त्रणमा लिइरहेको बताए ।


WRITE COMMENTS FOR THIS ARTICLE