सोमवार, बैशाख १४, २०८३
Monday, April 27, 2026

राप्रपा राजाको होइन, राजा मान्नेहरुको दल होः राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको तर्क गरेका छन ।

पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमअन्तर्गत तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन ।

उनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी भएको समेत बताए । राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए ।

राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको पनि उनले बताए । गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने पनि बताएका छन ।

पार्टीमा चलिरहेको विवादका बारे बोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफूलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरीत कार्य गरेकोले अनुशासनको कारबाही चलाउन सुरु गरेको समेत बताएका छन ।

राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समिक्षा गरिरहेको छ । सातवटै प्रदेशमा समिक्षा गर्ने क्रममा मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा समीक्षा बैठक सम्पन्न भएको छ ।

वैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, वैशाख १५ गते बागमती प्रदेशको काठमाडौंमा र वैशाख १७ गते सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा समीक्षा बैठक तय गरेको छ । कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x