०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै
काठमाडौं – वि.स.२०७२ साल नेपाली समाजका लागि कहिल्यै नबिर्सिने वर्ष बन्यो । ०७२ वैशाख १२ गते अर्थात आजकै दिन नेपाली जनजीवनलाई तहनहस बनाइदियो । त्यो अतितले आजपनि मानिसहरुलाई झस्काइदिन्छ । त्यसबेलाको भूकम्पको पराकम्पनले लाखौं नेपालीका सपनाहरु आफ्नो घरको छानोसँगै भत्काइदिएको थियो । समय बित्दै जाँदा धेरैका घाउ निको हुन्छन् भन्ने विश्वास भएपनि ०७२ को भूकम्पले छाडेका चोटहरु अझैपनि समाजको स्मृतिमा ताजा छ ।
हरेक वर्ष वैशाख १२ आउँदा देश एकैपटक अतितमा फर्किन्छ,त्रास, आँसु, उद्धार, र पुनर्निर्माणका ती कठिन दिनहरू फेरि जीवन्त हुन्छन् । वैशाख १२ गते शनिबार, बिहान ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले नेपाललाई गहिरो रूपमा हल्लायो । केन्द्रविन्दु गोरखाको बारपाक थियो । केही सेकेन्डमै हजारौं घरहरू ढले, पुरातात्विक सम्पदाहरू ध्वस्त भए, विद्यालय, अस्पताल, कार्यालय सबै क्षतविक्षत भए । मानिसहरू एकैछिनमा आफ्नो घर, सम्पत्ति मात्र होइन, सुरक्षित जीवनसमेत गुमाउन बाध्य भए ।
सरकारी तथ्यांकअनुसार करिब नौं हजार मानिसले ज्यान गुमाए भने २२ हजारभन्दा बढी घाइते भए । लाखौं नागरिक विस्थापित भए । काठमाडौं उपत्यका, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, रसुवा, दोलखा र काभ्रे सबैभन्दा बढी प्रभावित भए । विशेषगरी सिन्धुपाल्चोक र गोरखामा त कतिपय बस्ती नै उजाडिए ।
त्यो दिन केवल संरचना ढलेनन्, मानिसहरूको मनोबल पनि भत्कियो । आफ्नै परिवारका सदस्यलाई भग्नावशेषबाट निकाल्न नसक्ने पीडा, घाइतेलाई अस्पताल पु¥याउन नसक्ने असहाय अवस्था र निरन्तर परकम्पको डरले समाजलाई मानसिक रूपमा थिलथिलो बनायो। धेरै बालबालिकाले अभिभावक गुमाए, धेरै वृद्धहरू सहाराविहीन भए र हजारौं मानिस अझै पनि त्यो दिन सम्झँदा भावनात्मक रूपमा विचलित हुन्छन्।
काठमाडौंको धरहरा ढलेको दृश्य आजपनि धेरै नेपालीको आँखामा ताजै छ । सयौं वर्ष पुराना मठ–मन्दिर, दरबार क्षेत्र र सांस्कृतिक सम्पदाहरू एकैछिनमा भग्नावशेषमा परिणत भए । बसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयंम्भू र चाँगुनारायणजस्ता ऐतिहासिक स्थलहरूको क्षति केवल भौतिक मात्र थिएन—यो नेपालको पहिचान, इतिहास र सांस्कृतिक आत्माको ठूलो चोट थियो ।
भूकम्पपछि सुरु भएका दिनहरू अझै कठिन थिए । मानिसहरू खुला चौर, सडक किनार र टेन्टमा रात काट्न बाध्य भए । खानेपानी, औषधि र आधारभूत सेवाको अभावले जीवन झन् कठिन बनायो । राहत वितरणका लागि लामो लाइन, अनिश्चित भविष्य र निरन्तर त्रासले समाजलाई अस्थिर बनाएको थियो ।
तर यही विपत्तिको बीचमा मानवता पनि देखियो । छिमेकीले छिमेकीलाई बचाए, युवाहरू स्वयंसेवक बने, सेना, प्रहरी र सशस्त्र प्रहरी उद्धारमा रातदिन खटिए ।
अन्तर्राष्ट्रिय समुदायले पनि नेपाललाई ठूलो सहयोग ग¥यो । उद्धार टोली, राहत सामग्री र पुनर्निर्माण सहयोगका प्रतिबद्धता आए। यसैपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गरियो र पुनर्निर्माण अभियान सुरु भयो।
आज, ०७२ को भूकम्पको एक दशकभन्दा बढी समय बितिसकेको छ । धेरै संरचना पुनर्निर्माण भएका छन् धरहरा पुनः बनेको छ, धेरै मन्दिर र सम्पदा पुनःस्थापित भएका छन्, हजारौं निजी घर पुनर्निर्माण भएका छन् । तर सबै कुरा पूर्ण भएको छैन ।
अहिलेसम्म पनि केही ग्रामीण क्षेत्रका विद्यालयहरू पूर्ण रूपमा सुरक्षित संरचनामा रुपान्तरण हुन सकेका छैनन् । केही स्वास्थ्य चौकी र सार्वजनिक भवन अझै अस्थायी संरचनामै सञ्चालन भइरहेका छन् । दुर्गम क्षेत्रमा पुनर्निर्माण ढिला भएको गुनासो अझै सुन्न पाइन्छ । कतिपय परिवार अझैपनि अस्थायी वा जोखिमयुक्त घरमा बसिरहेका छन्। यसका साथै, भूकम्पले उठाएको ठूलो प्रश्न अझै पनि जिवित छ—के नेपाल साँच्चै अर्को ठूलो विपत्तिका लागि तयार छ ?
विज्ञहरुका अनुसार नेपाल अझै उच्च भूकम्पीय जोखिममा छ । काठमाडौं उपत्यकाको घना र अव्यवस्थित शहरीकरण, कमजोर भवन निर्माण अभ्यास र विपद् पूर्वतयारीको कमीले भविष्यमा अझ ठूलो जोखिम निम्त्याउन सक्छ । विद्यालयहरूमा भूकम्प अभ्यास भएपनि त्यसको निरन्तरता र गहिराइ अझै पर्याप्त छैन ।
०७२ को भूकम्पले हामीलाई एउटा ठूलो पाठ दिएको छ । प्रकृतिसँग लड्न सकिँदैन, तर तयारीले क्षति कम गर्न सकिन्छ । संरचना मात्र होइन, सोच, नीति र व्यवहार पनि बलियो हुन आवश्यक छ । लाग्छ, सरकार अझैपनि भूकम्पको पूर्व तयारीमा स्पष्ट छैन्, भुइँ हल्लाएपछि मात्र झस्किन्छ र योजना बनाउन अग्रसर हुन्छ तर योजनाले कहिल्यै पूर्णता पाउँदैन् । भूकम्प प्रतिरोधी संरचना निर्माण र सचेतनामा सरकारले धेरै काम गर्न बाँकी नै छ ।
आज पनि वैशाख १२ आउँदा देश मौन हुन्छ । कतै आँसु झर्छ, कतै सम्झना बन्छ, कतै अधुरा सपनाहरू फेरि ताजा हुन्छन्। त्यो दिन केवल इतिहास होइन, आज पनि बाँचिरहेको अनुभव हो ।
०७२ सालको भूकम्प केवल एउटा प्राकृतिक विपत्ति होइन, यो नेपाली समाजको साझा पीडा, पुनर्जागरणको कथा र चेतावनी पनि हो । समय बितेपनि त्यो ११ बजेर ५६ मिनेट कहिल्यै बित्दैन । किनकि त्यो क्षणले नेपाललाई सधैंका लागि बदलिदिएको छ । ०७२ बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन। त्यो एउटा वर्ष होइन, एउटा अनुभूति हो, एउटा घाउ हो, र अझै पनि ताजा घाउको कथा हो ।


WRITE COMMENTS FOR THIS ARTICLE